काठमाडौँ । नवगठित श्रम संस्कृति पार्टीले आफ्नो पहिलो संसदीय बैठकमै अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेज गर्ने प्रस्ताव प्रस्तुत गर्ने संकेत दिएको छ।
पार्टी अध्यक्ष हर्क राईले सार्वजनिक अभिव्यक्तिमार्फत राष्ट्रिय स्वाधीनता, व्यावहारिक तथा जीवनोपयोगी शिक्षा प्रणाली र स्थानीय तहमा आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई प्राथमिक एजेन्डाका रूपमा अघि सारिएको जानकारी दिएका छन्। उनका अनुसार वैदेशिक हस्तक्षेप रहित नीति अवलम्बन गर्दै अन्तर्राष्ट्रिय सहयोगका कार्यक्रम पुनरावलोकन गर्ने दृष्टिकोण पार्टीले लिएको छ।
शिक्षा प्रणालीमा सैद्धान्तिक पक्षभन्दा व्यवहारिक सीप र प्रयोगमुखी सिकाइलाई प्राथमिकता दिनुपर्नेमा पार्टीको जोड रहेको छ। साथै, सीमा क्षेत्रको सुरक्षा सुदृढ गर्ने तथा त्यहाँ बसोबास गर्ने नागरिकको जीवनस्तर उकास्ने खालका लक्षित विकास कार्यक्रमलाई समेत महत्व दिइने उल्लेख गरिएको छ।
अध्यक्ष राईका अनुसार पहिलो संसदीय सत्रमा एमसीसी खारेज, शिक्षा प्रणालीमा सुधार, सीमा क्षेत्र केन्द्रित विकास, समग्र आर्थिक उन्नति तथा प्रत्येक स्थानीय तहमा उद्योग स्थापना गर्ने अवधारणासहितका प्रस्ताव अघि सारिनेछ। यसले स्वदेशमै रोजगारी सिर्जना गर्ने र आयात निर्भरता घटाउने लक्ष्य राखिएको छ।







