काठमाडौँ । गण्डकी प्रदेशको क्रिकेट टोलीले पीएम कपकै ऐतिहासिक जित हासिल गरेको छ । तल्लो मुलपानी क्रिकेट मैदानमा विभागीय टोली एपीएफ क्लबलाई हराउँदै गण्डकीले इतिहास रचेको हो ।
गण्डकीले पीएम कपको इतिहासमै पहिलो पटक कुनै विभागीय टोलीलाई पराजित गरेको हो । वर्षापछिको वेट आउटफिल्डका कारण ढिला टस भएर २१ ओभरमा घटाइएको खेलमा गण्डकीले एपीएफमाथि ४३ रनको जित हासिल गर्यो ।
राष्ट्रिय टिमका कप्तान रोहित पौडेलसहित अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडी सम्मिलित एपीएफको टोलीलाई हराउन गण्डकीका स्पिन बलरको शानदार प्रदर्शन रह्यो । ब्याटरले पनि राम्रो प्रदर्शन गरे ।
ब्याटिङमा गौरव विक, दीपक डुम्रे, अर्जुन कुमाल र विपिन खत्रीले आ-आफ्नो तर्फबाट योगदान दिए । टी-२० सरहकै खेलमा १५० रनको योगफल चूनौतीपूर्ण थियो ।
बलिङमा सुरुवातदेखि नै स्पीनर चम्किए । अपराजित पौडेल र सिब्रिन श्रेष्ठ मिलेर एपीएफको टप अर्डर ध्वस्त बनाएका थिए । सुवास भण्डारीले पनि उस्तै लय देखाए र एपीएफलाई कुनै मौका दिएनन् ।
बाँयाहाते स्पिन बलर विपिन खत्री नै कप्तान रहेको गण्डकीका लागि स्पिन बलर नै चम्किए र विभागीय टोली एपीएफलाई हार चखाए । स्पीनर अपराजित पौडेल ‘प्लेयर अफ द म्याच’ घोषित भए । कप्तान बिपिनले जित निकै महत्त्वपूर्ण भएको बताए ।
एपीएफले २१ ओभरको खेल भएकाले लोकेश बमलाई आसिफसँगै ओपनिङ पठाएको थियो । तर लोकेशले छाप छाड्न सकेनन् । ९ बल खेलेका लोकेश अपराजितको बलमा १४ रन बनाएर आउट भए ।
पहिलो खेलमा शतक बनाएपछि लय गुमाइरहेका आसिफलाई पनि अपराजितले नै १४ रनमा आउट गरे । त्यसबीचमा कप्तान रोहित पनि सिब्रिनको बलमा बोल्ड भइसकेका थिए ।
यसअघि ओपनिङ गर्ने दिपक बोहरा ६ रन अनि सन्दीप जोरा ८ रनमा क्रमशस् पौडेल र सिब्रिनको बलमा आउट भएपछि एपीएफको इनिङ धराशायी बनेको थियो । एपीएफ ४७-५ को अवस्थामा पुग्यो ।
त्यसपछि युवराज खत्री ७ रन अनि अमरसिंह राउटेला शून्यमै आउट भएपछि एपीएफ ६१-७ को अवस्थामा पुग्यो । सुमित महर्जनले कमलसिंह ऐरीसँग मिलेर केहीबेर सम्हाले पनि कमल १७ रनमा आउट भए भने त्यसपछि सुमित आफैँ २२ रनमा आउट भए ।
गण्डकीका अपराजितले ५ ओभरमा ३१ रन दिएर ३ विकेट लिए । सिब्रिनले ४ ओभरमा २५ रन दिएर ३ विकेट लिए । सुवास भण्डारीले २ अनि कप्तान विपिन खत्रीले १ विकेट लिए ।
खेलपछि कुरा गर्दै अपराजितले टिमको जितमा योगदान दिन पाउँदा धेरै खुसी लागेको बताए ।
अपराजितले आगामी खेलमा पनि राम्रो प्रदर्शन गरेर टिमलाई जय ट्रफीमा छनोट गराउने लक्ष्य रहेको बताए ।
कप्तान बिपिनले विकेट बलरलाई सहयोग गर्ने किसिमको भएको बुझेको बताए । ‘बल रोकिएर आइरहेको थियो, घुमिरहेको थियो भन्ने बुझेर स्पीनरलाई सुरुदेखि लगायौँ, त्यही अनुसार अपराजित, सिब्रिनले राम्रो गरे’ उनको भनाइ थियो ।
वर्षाले प्रभावित भएको तल्लो मुलपानी क्रिकेट मैदानमा जमेको पानी सुकाएर ढिला गरी टस भएको थियो र खेल २१ ओभरमा झारिएको थियो । गण्डकीले टस जितेर ब्याटिङ रोज्यो ।
ओपनर गौरव विक र अर्जुन कुमालले राम्रो सुरुवात दिलाएका थिए । गौरव ३७ अनि अर्जुन २५ रनमा आउट भए पनि गण्डकीले राम्रो सुरुवात पाइसकेको थियो ।
दीपक डुम्रेले ३४ कप्तान बिपिनले अविजित २० अनि दिनेश बुढामगरले १९ रन बनाएपछि गण्डकीले १५० रनको योगफल खडा गर्यो ।
ओभरकास्ट कन्डिशनमा यो टोटल राम्रो मानिएको थियो । गण्डकीले डिफेन्ड पनि गर्यो । कप्तान बिपिनले आफूहरू यस्तो कन्डिशनमा खेल्न अभ्यस्त रहेको बताए ।
गण्डकीले प्रतियोगितामा पहिलो जित दर्ता गर्दै ४ खेलबाट ३ अंक जोडेर पुछारको स्थान छाडेको छ र आठौँ स्थानमा उक्लिएको छ । एपीएफले पनि ४ खेलमा ३ अंक नै जोडेको छ र सातौँ स्थानमा छ।
अब पीएम कपका बाँकी सबै खेल मधेश प्रदेशमा हुनेछन् । हालसम्म त्रिभुवन आर्मी क्लब र मधेश प्रदेश मात्र अपराजित टोलीका रूपमा छन् । आर्मीले ४ खेलमा ३ जितसहित ७ अंक जोडेको छ र शीर्षस्थानमा छ ।
४ खेलमा ५ अंक जोडेको पुलिस दोस्रो स्थानमा छ भने मधेश ५ अंकसहित नेट रनरेटमा पछि परेर तेस्रो स्थानमा छ । सुदूरपश्चिम ३ खेलमा ४ अंक जोडेर चौथो अनि लुम्बिनी र कर्णाली ३ खेलमा समान ३ अंक जोडेर क्रमशस् पाँचौँ र छैटौँ स्थानमा छन् ।
४ खेलमा एक जितसहित २ अंक भएको बागमती नवौँ अनि ४ खेलमा १ अंक मात्र भएको कोशी पुछारमा छ ।







