काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट तयारीका लागि अर्थ मन्त्रालयले सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा बजेट लेखन समिति गठन गरेको छ।
समितिमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डा. सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख डा. धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराई तथा वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेल सदस्य रहेका छन्।
मन्त्रालयले समितिलाई वार्षिक नीति तथा कार्यक्रमको लागि सुझाव संकलन, आयोजनाको प्राथमिकीकरण, संसद्को दुवै सदनमा पेस गरिने विनियोजन विधेयकको मस्यौदा तयार पार्ने तथा बजेट वक्तव्यको प्रारूप तयार गर्ने जिम्मेवारी दिएको छ।
सरकारले आगामी १५ जेठमा आर्थिक वर्ष २०८३-८४ को बजेट संसद्मा प्रस्तुत गर्ने तयारीमा रहेको छ। आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व ऐनअनुसार बजेट कार्यतालिका कार्यान्वयन भइसकेको छ।







