काठमाडौँ । सरकारले आगामी पाँच वर्षभित्र मुलुकको गरिबी दर उल्लेख्य रूपमा घटाउने लक्ष्यसहित नयाँ प्रतिबद्धता सार्वजनिक गरेको छ।
विभिन्न राजनीतिक दलका घोषणापत्रका साझा प्राथमिकतामा आधारित राष्ट्रिय प्रतिबद्धतामा गरिबी दरलाई हालको अवस्थाबाट आधा घटाउँदै करिब १० प्रतिशतमा सीमित गर्ने लक्ष्य राखिएको हो।
हाल करिब २०.२७ प्रतिशत रहेको गरिबी दरलाई घटाउन निजी, सहकारी र सार्वजनिक क्षेत्रबीच समन्वयात्मक तथा परिपूरक विकासको ढाँचा अपनाइने उल्लेख गरिएको छ।
यसमार्फत आर्थिक तथा सामाजिक असमानता न्यूनीकरण गर्दै बहुआयामिक गरिबी घटाउने रणनीति अघि सारिएको छ।
प्रतिबद्धतामा आर्थिक सूचक सुधारतर्फ पनि लक्ष्य निर्धारण गरिएको छ। आगामी पाँच वर्षमा औसत सात प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने, प्रतिव्यक्ति आयलाई तीन हजार अमेरिकी डलरको हाराहारीमा पुर्याउने तथा कुल गार्हस्थ्य उत्पादनलाई १०० अर्ब डलर नजिक पुर्याउने उद्देश्य लिइएको छ।







