काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी निकायका वेबसाइटहरू नियमित अद्यावधिक गर्न तथा नागरिक गुनासोको प्रभावकारी सम्बोधन सुनिश्चित गर्न निर्देशन दिएको छ।
कार्यालयले संघ, प्रदेश र स्थानीय तहका सबै मन्त्रालय, आयोग तथा निकायलाई पत्राचार गर्दै कार्यालय प्रमुख, प्रवक्ता र सूचना अधिकारीसम्बन्धी विवरण वेबसाइटमा अद्यावधिक नगर्ने तथा सम्पर्क नम्बरहरू सक्रिय नहुनेबारे गुनासो प्राप्त भएको जनाएको छ।
निर्देशन अनुसार सम्बन्धित निकायहरूले आफ्ना कर्मचारीहरूको नाम, मोबाइल नम्बर र इमेल विवरण तत्काल वेबसाइटमा अद्यावधिक गर्नुपर्नेछ। साथै कार्यालय प्रमुख, प्रवक्ता र सूचना अधिकारीले कार्यालय समयमा अनिवार्य रूपमा सम्पर्क फोन उठाई सेवाग्राहीका जिज्ञासा र गुनासोको शीघ्र सम्बोधन गर्नुपर्ने व्यवस्था गर्न भनिएको छ।
प्रधानमन्त्री कार्यालयले सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी र उत्तरदायी बनाउन यस्ता व्यवस्थाहरू कार्यान्वयनमा ल्याउन आवश्यक रहेको उल्लेख गरेको छ।








