काठमाडौँ । हवाई यात्रुलाई विमानस्थल आवत-जावतमा सहजता प्रदान गर्ने उद्देश्यसहित नेपालगन्जस्थित राँझा विमानस्थलबाट नि:शुल्क सटल बस सेवा सञ्चालनमा ल्याइएको छ । सेवा मंगलबारदेखि औपचारिक रूपमा सुरु गरिएको हो ।
विमानस्थल कार्यालयका अनुसार विमानस्थल परिसर र करिब डेढ किलोमिटर टाढा रहेको राँझा चोकसम्म यात्रु ओसारपसार गर्न यो सेवा सुरु गरिएको हो । उक्त बसले आगमन तथा प्रस्थान गर्ने दुवै यात्रुलाई लक्षित गरी नियमित रूपमा सेवा दिने व्यवस्था गरिएको जनाइएको छ ।
छोटो दूरीमा निश्चित स्थानबीच निरन्तर आवतजावत गर्ने सटल बस सेवा सञ्चालनमा आएपछि यात्रुहरूको आवतजावत अझ सहज हुने अपेक्षा गरिएको छ ।
सेवा सुरु भएको पहिलो दिनमै काठमाडौँबाट नेपालगन्ज पुगेका बुद्ध एयरका यात्रुहरूलाई सटल बसमार्फत राँझा चोकसम्म पुर्याइएको विमानस्थल कार्यालयले जनाएको छ ।







