काठमाडौँ । अदालतको कामकारबाहीसँग सम्बन्धित सेवामा घुस लिएको आरोपमा रौतहट जिल्ला अदालत, गौरमा कार्यरत एक कर्मचारीविरुद्ध मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जारी गरेको सूचना अनुसार अदालतको तहसिल शाखामा कार्यरत डिठ्ठा लव कुमार सिंहले जग्गा फुकुवा प्रक्रिया सम्पन्न गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको उजुरीपछि निगरानी गरिएको थियो।
अनुसन्धानका क्रममा सिंहलाई सेवाग्राहीसँग रु. ५० हजार घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।
अदालतको फैसला अनुसार रोक्का रहेको जग्गा फुकुवा तथा दा.खा. पुर्जी प्रक्रिया अघि बढाउने क्रममा विभिन्न बहाना बनाई सेवाग्राहीलाई हैरानी दिँदै रकम माग गरिएको पुष्टि भएको उल्लेख गरिएको छ।
संकलित प्रमाणका आधारमा उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसुरमा आरोपित गरिएको छ। आयोगले सोही ऐनअनुसार बिगो कायम गरी कैद तथा जरिवानाको माग दाबीसहित आज विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको जनाएको छ।







