काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो निवास र कार्यालयमा भएको छानबिन तथा अनुसन्धानात्मक कारबाहीप्रति प्रारम्भिक आपत्ति जनाउँदै पनि राज्यका सबै निकायसँग पूर्ण सहयोग रहने बताएका छन्।
आफ्नो तर्फबाट जारी गरिएको विज्ञप्तिमा उनले आफू राज्यका कुनै पनि निकायले बोलाएको अवस्थामा भौतिक रूपमा उपस्थित हुन सक्ने अवस्थामै रहेका बेला छापा मारिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
मुख्यमन्त्री बानियाँले संवैधानिक तथा कानुनी दायराभित्र रहेर हुने कुनै पनि अनुसन्धानमा आफ्नो पूर्ण समर्थन रहने स्पष्ट पार्दै यस्तो प्रक्रियामा सहयोग गर्न आफू सधैँ तयार रहेको उल्लेख गरेका छन्।
उनले यस विषयमा आफ्ना शुभेच्छुक र शुभचिन्तकलाई अनावश्यक चिन्ता नलिन आग्रह पनि गरेका छन्।
सम्पत्ति शुद्धीकरणसम्बन्धी आशंकामा अनुसन्धान अघि बढ्दै गर्दा सोमबार उनको हेटौँडास्थित निवास तथा काठमाडौँका नक्साल र सुन्धारास्थित कार्यालयमा छापा परेको थियो। सो क्रममा कागजात तथा विभिन्न प्रमाणहरू संकलन गरी मुचुल्का तयार गरिएको स्रोतले जनाएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सम्बद्ध स्रोतका अनुसार उनको सम्पत्ति र आर्थिक कारोबारमा केही अस्वाभाविक संकेत देखिएपछि अनुसन्धान अघि बढाइएको हो।
मुख्यमन्त्री बानियाँले आफ्नो राजनीतिक तथा व्यावसायिक जीवनका गतिविधिबारे हुने छानबिनलाई सकारात्मक रूपमा लिएको उल्लेख गरेका छन्। उनले राज्यका सबै तहबाट सुशासन प्रवर्द्धनका लागि हुने काममा निरन्तर सहयोग रहने पनि दोहोर्याएका छन्।
यद्यपि, सञ्चारमाध्यममा आएका विवरणअनुसार भएको छापा कारबाहीले आफ्नो व्यक्तिगत र सामाजिक प्रतिष्ठामा असर पुगेको अनुभूति भएको उनले बताएका छन्।








