काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रदेश तथा स्थानीय तह लक्षित कार्यक्रमअन्तर्गत सातै प्रदेशमा प्रदेशस्तरीय भेला सञ्चालन गर्ने निर्णय गरेको छ।
पार्टी उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माले बुधबार सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सो कार्यक्रमबारे जानकारी दिएका हुन्।
उनका अनुसार तय गरिएको कार्यतालिका अनुसार प्रदेशस्तरीय भेला वैशाख २६ गते धनगढीबाट प्रारम्भ भई जेठ १५ गते रुपन्देहीमा समापन हुनेछ।
कार्यक्रमअनुसार सुदूरपश्चिम प्रदेशका लागि वैशाख २६ र २७ गते धनगढीमा भेला हुनेछ भने कर्णाली प्रदेशको कार्यक्रम वैशाख २८ र २९ गते सुर्खेतमा तय गरिएको छ। गण्डकी प्रदेशको भेला वैशाख ३१ र जेठ १ गते पोखरामा आयोजना हुनेछ।
यसैगरी बागमती प्रदेशका लागि जेठ ४ र ५ गते धुलिखेलमा कार्यक्रम सञ्चालन गरिनेछ भने मधेश प्रदेशको भेला जेठ ६ र ७ गते महोत्तरीको बर्दिवासमा हुनेछ।
कोशी प्रदेशको कार्यक्रम जेठ ८ र ९ गते सुनसरीको लौकीमा तय गरिएको छ। अन्तिम रूपमा लुम्बिनी प्रदेशस्तरीय भेला जेठ १४ र १५ गते रुपन्देहीको तिलोत्तमामा आयोजना हुने तालिका सार्वजनिक गरिएको छ।







