काठमाडौँ । सुनकोशी नदी मा डुबेर सिन्धुलीका दुई बालकको मृत्यु भएको छ। घटना सुनकोशी गाउँपालिका-५ सित्खा क्षेत्रमा नदीबाट छुट्टिएको भंगालोमा भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुली का अनुसार मृत्यु हुनेमा सुनकोशी गाउँपालिका-४ स्थायी घर भई हाल सुनकोशी-३ बोहोरेटार बस्दै आएका ९ वर्षीय सफल पुलामी मगर र सुनकोशी-५ बन्दीपुरका १० वर्षीय युकेस विक रहेका छन्।
प्रहरीका अनुसार दुवै बालक नुहाउने क्रममा बेपत्ता भएका थिए। खोजतलासका क्रममा उनीहरूको शव नुहाएको स्थानदेखि करिब १५० मिटर पूर्वतर्फ सुनकोशी नदी किनारमा फेला परेको हो।
घटनापछि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत विपद् व्यवस्थापन बेस खुर्कोटबाट उद्धार सामग्रीसहित टोली परिचालन गरिएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।







