काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले पानीमा डुब्ने तथा बग्ने घटनाबाट प्रत्येक वर्ष ठुलो संख्यामा नागरिकको ज्यान जाने गरेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
आकस्मिक समयमा धारणा राख्दै उनले नेपाल प्रहरीको तथ्यांक अनुसार वार्षिक रूपमा करिब ४ सय जनाले डुबेर वा बगेर ज्यान गुमाउने गरेको उल्लेख गरे। साथै, विश्व स्वास्थ्य संगठनको तथ्यांक उद्धृत गर्दै नेपालमा यस्ता घटनाबाट मृत्यु हुने संख्या १५ सयसम्म पुग्ने गरेको बताए। उनका अनुसार पीडितमध्ये आधाभन्दा बढी २५ वर्षमुनिका रहेका छन्।
सांसद गजुरेलले सिन्धुलीमा हालै भंगालोमा डुबेर दुई बालकको मृत्यु भएको घटनाको पनि स्मरण गरे। उनले पानीसँग सम्बन्धित जोखिमबारे सर्वसाधारणमा व्यापक जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताए।
उनले पूर्वाधार निर्माणका क्रममा जथाभावी खाल्डाखुल्डी छाड्ने प्रवृत्ति दुर्घटनाको कारण बन्ने उल्लेख गर्दै त्यस्ता कार्यमा कडाइ गर्न सरकारसँग माग गरे।
साथै, बालबालिकाको सुरक्षालाई प्राथमिकतामा राखेर आवश्यक रोकथाम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा पनि उनले राखेका छन्।







