काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रथम राष्ट्रिय महाधिवेशनको तयारीलाई व्यवस्थित र प्रभावकारी बनाउन सभापति रवि लामिछानेको नेतृत्वमा मूल आयोजक समिति गठन गरेको छ।
पार्टीले महाधिवेशनलाई संगठन विस्तार, नीतिगत दिशा निर्देशन तथा नेतृत्व चयनसँग जोडिएको महत्वपूर्ण अवसरका रूपमा अघि बढाएको जनाएको छ।
चितवनमा असार ७, ८ र ९ गते आयोजना हुने महाधिवेशनको व्यवस्थापन तथा समन्वयका लागि गठन गरिएको मूल आयोजक समितिमा पार्टीका शीर्ष पदाधिकारीहरूलाई समेटिएको छ। समितिमा उपसभापति डा। स्वर्णिम वाग्ले, महामन्त्रीद्वय कवीन्द्र बुर्लाकोटी र भूपदेव शाह तथा सहमहामन्त्रीहरू विपिनकुमार आचार्य, लिमा अधिकारी र बसुमाया तामाङ सदस्य रहेका छन्।
यस्तै, मनिष झा, विराजभक्त श्रेष्ठ, दीपकराज बोहरा, गणेश पराजुली, सोबिता गौतम, शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवाली र सागर ढकाललाई पनि समितिमा सदस्यको जिम्मेवारी दिइएको छ।
पार्टीले केन्द्रीय समितिका सम्पूर्ण सदस्य र प्रदेश तहका सभापतिहरूलाई समेत मूल आयोजक समितिको सदस्य रहने व्यवस्था गरेको जनाएको छ। यसबाट महाधिवेशन तयारीलाई देशव्यापी रूपमा समन्वय गर्ने उद्देश्य राखिएको बताइएको छ।
रास्वपाका अनुसार पहिलो राष्ट्रिय महाधिवेशनले पार्टीको संगठनात्मक संरचनालाई थप सुदृढ बनाउने, आगामी राजनीतिक कार्यदिशा तय गर्ने तथा नेतृत्व चयन प्रक्रियालाई संस्थागत रूप दिने अपेक्षा गरिएको छ। महाधिवेशनलाई केन्द्रित गरी पार्टीले विभिन्न तयारीका कामलाई तीव्रता दिएको जनाएको छ।







