काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा विचाराधीन घुस-रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भएका ईश्वरी प्रसाद गौतमविरुद्ध भ्रष्टाचारसम्बन्धी नयाँ मुद्दा दायर गरेको छ।
आयोगका अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व)को त्रिवेणी गाउँपालिका-७ स्थायी ठेगाना भएका गौतमले अनुसन्धानका क्रममा दिएको बयान र आरोप मागदाबीको प्रतिकूल हुने गरी विशेष अदालतमा बकपत्र गरेको पुष्टि भएपछि उनीविरुद्ध आरोप पत्र दायर गरिएको हो।
यसअघि चन्द्रबहादुर अधिकारीसमेत प्रतिवादी रहेको घुस-रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दाको अनुसन्धानका क्रममा सहयोग गरेका कारण गौतमलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को व्यवस्था अनुसार सजायमा पूर्ण छुट दिई सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएको थियो।
तर, विशेष अदालतमा गत वैशाख २३ गते भएको बकपत्रका क्रममा उनले आयोगसमक्ष दिएको बयानसँग मेल नखाने अभिव्यक्ति दिएको अख्तियारको निष्कर्ष छ। आयोगले गरेको थप अनुसन्धानबाट प्रतिवादी अधिकारीले ऋण उपलब्ध गराइदिने नाममा मागिएको ५० लाख रुपैयाँ घुस-रिसवतको लेनदेन प्रक्रियामा गौतमको संलग्नता देखिएको जनाएको छ।
उक्त आधारमा आयोगले गौतमविरुद्ध ५० लाख रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद तथा बिगो बराबरको जरिवानाको मागदाबी सहित विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको जनाएको छ।







