काठमाडौँ । सरकारी सेवा प्रवाहलाई घरदैलोमै पुर्याउने उद्देश्यसहित रौतहटमा पासपोर्ट वितरण सेवा औपचारिक रूपमा सुरु गरिएको छ। जिल्ला हुलाक कार्यालयमार्फत अब सेवाग्राहीले घरमै राहदानी प्राप्त गर्न सक्ने व्यवस्था लागू गरिएको हो।
नयाँ व्यवस्थाअनुसार पहिलो सेवाग्राहीको रूपमा गौर नगरपालिका-२ का राजु राम रहेका छन्। रोजगारीका लागि भारतको गुजरातमा रहेका रामको राहदानी उनकी आमा गुडिया देवी ले प्राप्त गरेकी हुन्।
सेवाको औपचारिक शुभारम्भ रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले गरे। कार्यक्रममा उनले सरकारी सेवा नागरिकको घरमै पुर्याउने नीति अन्तर्गत यो कार्यक्रम सुरु गरिएको जानकारी दिए।
घरमै राहदानी प्राप्त भएपछि सेवाग्राही परिवारले सहजता महसुस गरेको प्रतिक्रिया दिएका छन्। विशेष गरी वैदेशिक रोजगारीका लागि विदेशमा रहेका नागरिकका परिवारलाई यो प्रणाली उपयोगी हुने अपेक्षा गरिएको छ।







