काठमाडौँ । नेकपा (एमाले) ले संगठन सुदृढीकरण र सदस्यता विस्तारलाई केन्द्रमा राख्दै १० बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय संगठन विभागद्वारा राजधानीमा आयोजित दुईदिने कार्यशालाबाट उक्त संकल्प पारित गरिएको हो।
कार्यशालाले संगठन निर्माणलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सदस्यता विस्तार, विज्ञान तथा प्रविधिको उपयोग बढाउने तथा युवा पुस्ताको सहभागिता सुदृढ गर्ने विषयलाई प्राथमिकतामा राखेको जनाएको छ।
संकल्पअनुसार प्रत्येक संगठित सदस्यले कम्तीमा तीन जना नयाँ सदस्य पार्टीमा आबद्ध गराउने लक्ष्य लिइएको छ। साथै, सदस्यता नवीकरण अभियानलाई स्थानीय तह र टोलस्तरसम्म विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
पार्टीले पछिल्लो निर्वाचनमा एमालेलाई मत दिएका नागरिकलाई संगठनात्मक गतिविधिमा सक्रिय रूपमा जोडिन आग्रह गर्ने निर्णय समेत गरेको छ।
कार्यशालामा जिल्ला इन्चार्ज, प्रदेश तथा जिल्ला अध्यक्ष, संगठन विभागसँग आबद्ध पदाधिकारी र विभिन्न जनसंगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा पार्टीको वर्तमान संगठनात्मक अवस्था, गतिविधि तथा आगामी रणनीतिबारे समीक्षा र छलफल गरिएको जनाइएको छ।
प्रदेशगत तथा विषयगत समूह बनाएर सञ्चालन गरिएको छलफलबाट प्राप्त निष्कर्षहरू सम्बन्धित समूहका प्रतिनिधिहरूले प्रस्तुत गरेका थिए। सुदूरपश्चिम प्रदेशको तर्फबाट कृष्णप्रसाद जैशी, राजधानी प्रदेशबाट नारायण सिलवाल, गण्डकीबाट नवराज शर्मा, लुम्बिनीबाट राधाकृष्ण कँडेल, कर्णालीबाट गुलाबजंग शाह तथा मधेश प्रदेशबाट चन्द्रेश्वर मण्डलले समूहगत प्रतिवेदन पेश गरेका थिए।
यस्तै, कोशी प्रदेशबाट धनश्यामा खतिवडा, बागमती प्रदेशबाट दावा दोर्जी लामा, सम्पर्क समन्वय समूहबाट अशोक ठकुरी तथा जनसंगठन समूहबाट महाराज गुरुङले कार्यशालाका निष्कर्ष सहभागीसमक्ष प्रस्तुत गरेका थिए।







