काठमाडौँ । एसियन गेम्स क्रिकेट छनोटको फाइनलमा नेपाल र हङकङबीच जारी खेल वर्षाका कारण अवरुद्ध भएको छ। सिंगापुरमा भइरहेको उक्त खेलमा नेपालले दोस्रो इनिङमा लक्ष्य पछ्याइरहेको अवस्थामा पानी परेपछि खेल रोकिएको हो।
हङकङले टस हारेर पहिले ब्याटिङ गर्दै नेपाललाई १८९ रनको चुनौती दिएको थियो। जवाफी इनिङमा नेपालले राम्रो सुरुआत गर्दै जिततर्फ अग्रसर भइरहेका बेला मौसमका कारण खेल स्थगित हुन पुगेको हो।
रोकिनुअघि नेपालले ११.३ ओभरमा २ विकेट गुमाउँदै ११४ रन बनाएको थियो। टोलीका लागि ओपनर कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक पूरा गरे। उनले ४० बलमा ६५ रन जोड्दै ३ छक्का र ८ चौका प्रहार गरे।
पहिलो विकेटका रूपमा आसिफ शेख शून्यमा आउट भएपछि कुशल भुर्तेल र रोहित पौडेलबीच महत्वपूर्ण साझेदारी भएको थियो। रोहित पौडेलले २४ बलमा ३५ रन बनाएर खेलिरहेका थिए भने कप्तान दीपेन्द्रसिंह ऐरी ४ बलमा ९ रनमा अविजित थिए।
हाल क्रिजमा रहेका यी ब्याट्सम्यानबीचको साझेदारी जारी रहँदा खेल रोकिएको हो। यदि खेल पुनः सुरु हुन नसकेमा डकवर्थ-लुइस-स्टर्न (डीएलएस) प्रणालीका आधारमा नतिजा निकालिनेछ। हालको अवस्थामा डीएलएस अनुसार नेपाल १९ रनले अगाडि रहेको जनाइएको छ।







