काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले बालुवाटारस्थित ‘मारिया हस्पिटल’ (मारिया हेल्थ सेन्टर प्रा.लि.) मा सिलबन्दी गरेको छ।
अस्पतालले आवश्यक अनुमति र क्लिनिकल मापदण्ड नै पूरा नगरी गैर कानुनी रूपमा सञ्चालन भइरहेको पाइएपछि काउन्सिलले सिलबन्दी गरेको हो ।
काउन्सिलले गरेको स्थलगत अनुगमनका क्रममा अस्पतालले विदेशी चिकित्सकहरूमार्फत अवैध रूपमा बिरामीको स्वास्थ्य परीक्षण गराइरहेको भेटिएपछि कानुनी कारबाही अघि बढाइएको बिहीबार एक सूचना जारी गर्दै जानकारी दिइएको हो ।
यस्तै, काउन्सिलले आवश्यक अनुमति र क्लिनिकल मापदण्ड पूरा नगरी उक्त अस्पतालमा चिकित्सा अभ्यासमा संलग्न तीन चिनियाँ नागरिकको चिकित्सक अभ्यास अस्थायी दर्ता तत्कालका लागि निलम्बन गरेको छ।
उक्त संस्थाको बोर्डमा नाम राखी आचारसंहिता उल्लङ्घन गर्ने नेपाली चिकित्सकलाई पनि दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको बताइएको छ ।








