काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले केही समयअघि व्यक्त गरेको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलका सांसदहरूले पुनः सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्।
उनीहरूले उक्त विषयमा प्रधानमन्त्री स्वयंले धारणा स्पष्ट गर्नुपर्ने र विवादास्पद भनाइ संसद्को अभिलेखबाट हटाउनुपर्ने माग दोहोर्याएका छन्।
बैठकमा बोल्दै नेकपाका सांसद प्रमेश हमालले जेठ १७ गतेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले व्यक्त गरेको भनाइका सम्बन्धमा सरकारको आधिकारिक दृष्टिकोण सार्वजनिक हुनुपर्ने बताए। नेपाल–भारत सीमासम्बन्धी प्रशंगमा प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले गम्भीर प्रश्न उठाएको भन्दै उनले यसबारे स्पष्ट उत्तर आवश्यक रहेको उल्लेख गरे।
उनले प्रधानमन्त्रीका यस्ता अभिव्यक्ति पटक-पटक दोहोरिने गरेको टिप्पणी गर्दै केवल विरोध जनाएर विषय टुंगिने अवस्था नरहनुपर्ने बताए। संसद् र जनतासामु स्पष्ट धारणा प्रस्तुत गरेर विवादको अन्त्य गर्न सरकार अग्रसर हुनुपर्ने उनको भनाइ थियो।
सांसद हमालले त्रिदेशीय सीमासम्बन्धी हाल चर्चामा रहेको विषयबारे चीनसँग कूटनीतिक तहमा कुनै संवाद भएको भए त्यसबारे जानकारी दिन परराष्ट्रमन्त्रीलाई आग्रह गरे। साथै उनले सुस्ता क्षेत्रमा भारतीय नागरिकको प्रवेश, दार्चुलाको नेपाली आकाश क्षेत्रमा हेलिकप्टर प्रवेश गरेको भनिएको घटना तथा नेपाली चिया निर्यातमा देखिएको अवरोधजस्ता विषयप्रति सरकारको ध्यानाकर्षण गराए।
नेपाली काँग्रेसकी सांसद रेखाकुमारी यादवले प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा मन्त्री स्तरबाट जवाफ आउनु पर्याप्त नहुने धारणा राखिन्। उनले यस विषयमा प्रधानमन्त्री स्वयंले स्पष्टीकरण दिनुपर्ने बताइन्।
यस्तै, नेकपा (एमाले) की सांसद टुकाभद्रा हमालले पनि विवादित अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गर्दै विपक्षी दलहरूको धारणा दोहोर्याइन्।
प्रधानमन्त्रीको सीमासम्बन्धी भनाइलाई लिएर पछिल्ला केही दिनदेखि प्रतिनिधि सभामा निरन्तर बहस भइरहेको छ भने विपक्षी दलहरूले यस विषयमा सरकारबाट औपचारिक जवाफको माग गर्दै आएका छन्।







