काठमाडौँ । सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्याउने तथा सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिएको आरोपमा प्रहरीले काठमाडौँको चन्द्रागिरिबाट ६ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार २०८३ असार २ गते बिहान करिब १०:१५ बजे चन्द्रागिरि नगरपालिका-५ गुर्जुधारास्थित यातायात कार्यालयमा बिचौलियाहरूले सेवाग्राहीलाई अनावश्यक समस्या सिर्जना गरिरहेको सूचना प्राप्त भएको थियो।
उक्त सूचनापछि जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्याउने तथा सेवाग्राहीलाई हैरानी दिने कार्यमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका-५ का २७ वर्षीय रञ्जित महर्जन, गोकर्णेश्वर नगरपालिका-८ का २३ वर्षीय दोर्जे लामा, चन्द्रागिरि-१२ गुर्जुधाराका ३२ वर्षीय आशिष श्रेष्ठ, चन्द्रागिरि-५ का ४९ वर्षीय केदार श्रेष्ठ, धादिङ सिद्धलेक गाउँपालिका-१ का २७ वर्षीय डाक्सन गुरुङ र चन्द्रागिरि-६ का २५ वर्षीय सविन तामाङ रहेका छन्।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। प्रहरीका अनुसार सार्वजनिक सेवा प्रवाहलाई सहज, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन यस्ता गतिविधिमाथि निगरानी बढाइएको छ।







