काठमाडौँ । नेपाल प्रहरीले सुनसरीको कोशी गाउँपालिका क्षेत्रबाट २० दशमलव १७ ग्राम ब्राउन सुगरसहित चारलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले जिल्लाको कोशी गाउँपालिका–१ स्थित भन्सार गेटबाट २० दशमलव १७ ग्राम ब्राउन सुगर सहित चार जनालाई पक्राउ गरेको जनाएको छ ।
शंकास्पद मानिसहरू र सवारीसाधनलाई चेकजाँच गर्दा लागुऔषध ब्राउन सुगर सहित चार जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा प्रदेश १–०२–०४७ प २०३४ नम्बरको स्कुटर चालक इटहरी उपमहानगरपालिका वडा नं.४ का ४३ वर्षीय बिशे चौधरी र स्कुटरमा पछाडि सवार भुप नारायण चौधरी, को. ३० प. ४५०९ नम्बरको मोटरसाइकल चालक धरान उपमहानगरपालिका–१६ का ३० वर्षीय एलिन जंग राणा र पछाडि सवार धरान-११ का ३१ वर्षीय सन्देश लिम्बू रहेका छन् ।
इटहरीका बिशे चौधरीले मलद्वार भित्र लुकाई छिपाई राखेको अवस्थामा सात दशमलव ५२ ग्राम र सन्देश लिम्बुले मलद्वार भित्र लुकाई राखेको अवस्थामा १२ दशमलव ६५ ग्राम सहित जम्मा २० दशमलव १७ ग्राम ब्राउन सुगर सहित चरै जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







