काठमाडौँ । सर्लाहीको बरहथवा नगरपालिका–३ स्थित प्रतिटोलमा चोरीको पिकअप गाडी प्रयोग गरी चोरी गर्दै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–६ निवासी १८ वर्षीय जुमुन मियाँ रहेका छन्। शुक्रबार बिहान करिब ४ बजे उनले विजय यादवको घरबाट मोबाइल फोन र नगद चोरी गरेपछि नजिकै रहेको मनोज सहनीको घरमा पनि चोरी गर्ने प्रयास गरेका थिए। सो क्रममा घरधनीकी श्रीमतीले उनलाई देखेर होहल्ला गरेपछि स्थानीय र प्रहरीको सहयोगमा उनी पक्राउ परेका हुन्।
प्रहरीले उनको साथबाट मधेश प्रदेश ०४–००१ च ०३६७ नम्बरको पिकअप गाडी समेत बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उक्त पिकअप २०८३ जेठ १९ गते इलाका प्रहरी कार्यालय हरिवनको कार्यक्षेत्रबाट चोरी भएको खुलेको प्रहरीले जनाएको छ।
बरामद पिकअप हराएको गाडीसँग मेल खाएको पुष्टि भएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।







