उमार्न हिरा विदेशी छोरा आऊ न गाउँमा
बारीका पाटा खेतका गरा छ तिम्रै नाउँमा
विदेशी भूमि सिँगार्छौ किन जीवन दोधार
लागेको दैलो मनको पीडा दिवार उघार
सुर्केनी थैली खोलेर हेर्दा एकाना हातमा
नमरी बाँचे कालले साँचे बसौँला साथमा
मुटुमा गाँठो पारेर छोरा पठाएँ विदेश
भूस्वर्ग थलो सँभाल्नु पर्छ फर्कनू स्वदेश
वार्षिक गति घुमेर फेरि आएछ असार
यसोमा हेर्दा हरिया भए जगतै संसार
असार मास दबदबे हिला पारेर गरामा
मिलाई माटो धानको बिज राखौँला धरामा
खन न खन हे लाठे दाइ कोदाली मच्चाई
हेरौँला तिम्रो छातीको बल दिलको सच्चाइ
जोत न तिमी रोप्दिन्छु मैले कर्मको गरामा
जोत्ने र खन्ने रोप्ने र लिने यही रीत धरामा
किसान हामी हर्षका साथ सुकर्म गरौँला
रोपेर मानो फलाई मुरी भकारी भरौँला
हिलामा खेल्दै माटाको टिको लाएर माथमा
बेठीमा रम्दै छमछमी नाच्दै रोपारे साथमा







