काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएका तोडफोड, हत्या, हिंसा, आगजनी तथा लुटपाटका घटनालाई सरकारले वैधानिकता दिएको आरोप लगाएका छन्।
पार्टीनिकट नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले अघि बढाएका कामलाई रोक्न विभिन्न शक्तिहरूले संवैधानिक प्रक्रियाबाट सफल हुन नसकेपछि असंवैधानिक उपाय अवलम्बन गरेको दाबी गरे।
उनले आफ्नो नेतृत्वमा भूकम्पपछिको पुनर्निर्माण, कोभिड-१९ महामारी व्यवस्थापन तथा आर्थिक सुधारका क्षेत्रमा उल्लेखनीय प्रयास गरिएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य र खेलकुदलगायत क्षेत्रको विकासका पहल केही पक्षलाई अस्वीकार्य बनेको जिकिर गरे।
ओलीका अनुसार संवैधानिक माध्यमबाट सरकार परिवर्तन गर्न नसकेपछि तोडफोड, हिंसा, आगजनी, हत्या तथा लुटपाटजस्ता गतिविधिको सहारा लिएर सरकार परिवर्तन गर्ने प्रयास भएको र त्यस्ता घटनालाई सरकारले वैधानिक मान्यता दिएको अवस्था देखिएको छ।
उनले मुलुकलाई पुनः शान्तिपूर्ण, भयमुक्त र सबै नागरिकले समान रूपमा न्याय प्राप्त गर्न सक्ने प्रणालीतर्फ अघि बढाउनुपर्ने आवश्यकता रहेको धारणा पनि व्यक्त गरेका छन्।







