पाँचवर्षे सचिव पदको अवधि पूरा गर्दै मधुसूदन बुर्लाकोटी आइतबारदेखि अनिवार्य अवकाशमा गएका छन्। तीन दशकभन्दा लामो निजामती सेवामा उनले स्थानीय प्रशासन, सार्वजनिक खरिद, उद्योग, स्वास्थ्यलगायत विभिन्न निकायमा नेतृत्वदायी जिम्मेवारी सम्हाले।
काठमाडौँ । नेपाल सरकारका सचिव मधुसूदन बुर्लाकोटी पाँचवर्षे सचिव पदको अवधि पूरा गर्दै आइतबारदेखि अनिवार्य अवकाशमा गएका छन्। पछिल्लो समय उनी निर्वाचन आयोगमा सचिवका रूपमा कार्यरत थिए।
२०५४ साल कार्तिक १२ गते निजामती सेवामा प्रवेश गरेका बुर्लाकोटीले सेवाको प्रारम्भिक चरणमा अधिकांश समय स्थानीय निकायमा काम गरेका थिए। २०६३ साल भदौ २३ गते उपसचिवमा बढुवा भएपछि उनले स्थानीयका विभिन्न निकायमा जिम्मेवारी सम्हाल्नुका साथै हुम्ला, उदयपुर र नुवाकोटका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) का रूपमा समेत काम गरेका थिए।
२०६८ साल फागुन १७ गते सहसचिवमा बढुवा भएका उनले दाङ र महोत्तरीका प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, पर्यटन महाशाखा (हाल विभाग), स्थानीय विकास, उद्योग, स्वास्थ्य तथा बागमती प्रदेश सरकारलगायत विभिन्न निकायमा जिम्मेवारी निर्वाह गरेका थिए।
२०७८ साल असार २१ गते सचिवमा बढुवा भएपछि उनले सुदूरपश्चिम प्रदेश सरकारमा प्रदेश प्रमुख सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, उपराष्ट्रपतिको कार्यालय, राष्ट्रिय तथ्यांक कार्यालय तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिवका रूपमा काम गरेका थिए। त्यसपछि उनी निर्वाचन आयोगमा सरुवा भएका थिए।
बुर्लाकोटीलाई सार्वजनिक खरिद व्यवस्थापन तथा खरिद कानुनका जानकार प्रशासकका रूपमा पनि चिनिन्छ। सार्वजनिक खरिद अनुगमन कार्यालयमा रहँदा उनले सार्वजनिक खरिद प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन नीतिगत तथा प्रक्रियागत सुधारका विभिन्न पहल गरेका थिए।
निजामती सेवाका क्रममा उनले स्थानीय प्रशासन, प्रदेश प्रशासन र केन्द्रीय सरकारी निकायमा विभिन्न जिम्मेवारी सम्हाल्दै प्रशासनिक व्यवस्थापन, सेवा प्रवाह तथा संस्थागत सुधारसँग सम्बन्धित विषयमा काम गरेका थिए।
उनको अनिवार्य अवकाशसँगै निर्वाचन आयोगमा सचिव पद रिक्त भएको छ।







