काठमाडौँ । नेकपा (एमाले) का सांसद राजेन्द्र राई र सभामुख डीपी अर्यालबीच भनाभन हुँदा संसदमा केही बेर तनावपूर्ण स्थिति (लफडा) सिर्जना भएको छ।
बुधबार प्रतिनिधि सभामा बैठकमा बोल्ने क्रममा एमाले सांसद राईले सभामुखको ध्यानाकर्षण गराउँदै भने, ‘सम्माननीय सभामुख महोदय, सम्माननीय सभामुखलाई एउटा निवेदन गर्नुपर्यो, तपाईँ कान सुन्नुहुन्छ कि हुन्न: मेरो सभामुखलाई निवेदन हो।’
सांसद राईले सभामुखको शारीरिक क्षमतामाथि प्रश्न उठाउँदै सो शब्द प्रयोग गरे लगत्तै सभामुख डीपी अर्यालले उनलाई बीचमै रोकेका थिए। सभामुख अर्यालले राईलाई आसन ग्रहण गर्न निर्देशन दिँदै आक्रोश व्यक्त गरे।
संसदमा ओर्लिएको उक्त मर्यादा उल्लंघनप्रति कडा आपत्ति जनाउँदै सभामुख अर्यालले भने ‘माननीय सदस्य मर्यादामा बस्नुहोला। माननीय सदस्यलाई योभन्दा अगाडि बढ्नलाई म निर्देशन दिदिनँ, समय दिदिनँ, बस्नुस्। माननीय सदस्य बस्नुस्। माननीय सदस्यले सभामुखको अपहेलना गर्दै हुनुहुन्छ, सभाको अपहेलना गर्दै हुनुहुन्छ, बस्नुस्।’
सभामुखले संसदीय मर्यादा कायम राख्न निर्देशन दिएपछि राईलाई थप बोल्न रोक लगाइएको थियो। राईको अभिव्यक्तिलाई लिएर पक्ष विपक्षमा बहस भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेको हो ।







