काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको परराष्ट्र नीति र कदमप्रति आक्रोश व्यक्त गरेका छन् । मंगलवार एक प्रेस नोट जारी गर्दै नेता खनालले बालेन सरकारले नेपालको स्थापित एक चीन नीति विपरीत कार्य गरेको र नेपाललाई पश्चिमा शक्तिहरूको रणनीतिक अखडा बनाउन खोजेको गम्भीर आरोप लगाएका हुन् ।
जारी प्रेस नोटमा नेता खनालले भनेका छन्, ‘चीनबाट सन् १९५९ मै भागेर विदेशमा शरण लिएर बसेका पृथकतावादी नेता दलाई लामाको जन्मदिन मनाउन बालेन्द्र सरकारले नेपालको इतिहासमै पहिलो पटक निर्लज्जतापूर्वक अनुमति दिएको छ।’ यस कदमले नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भएदेखि नै रहिआएको सुमधुर सम्बन्धलाई खल्बल्याउने काम गरेको र यो पूर्णतः राष्ट्रहित विरोधी भएको उनको जिकिर छ।
जन्मोत्सव कार्यक्रममा अमेरिकी, फ्रान्सेली, युरोपेली युनियन र अष्ट्रेलियाली राजदूतहरूको उपस्थितिलाई खनालले अत्यन्त गम्भीर र आपत्तिजनक रहेको उनको भनाइ छ ।
‘पश्चिमा शक्तिहरू नेपाललाई चीन विरोधी अखडा बनाउन र नेपाललाई युक्रेन बनाउन भित्री षड्यन्त्रमा लागिरहेका छन् भन्ने कुरामा हामी अनविज्ञ छैनौँ,’ नोटमा उल्लेख छ। नेपालको भूमि छिमेकीहरूका विरुद्ध प्रयोग गर्न कसैलाई पनि अधिकार नभएको उनले प्रस्ट पारे। बालेन सरकारको नीतिलाई साम्राज्यवाद परस्तको संज्ञा दिँदै खनालले विश्व बैंक र एडिबीको खर्बौँ ऋण भार बोकाउनु पश्चिमाहरूको हितमा भए पनि नेपाल र नेपालीको हितमा नहुने उल्लेख गरेका छन् । ‘आफैँले निर्वाचित गरेका सरकारहरू जनताको हित विरुद्ध जाँदा नेपाली जनताले उखेलेर हटाएको कुरालाई बालेन्द्र सरकारले संस्मरण गर्नु राम्रो हुन्छ।’ उनले पत्रमा लेखेका छन् ।








