काठमाडौँ । नेकपा एमाले पुनर्गठन अभियानले पार्टीको अवस्था र सुधारका विषयमा गरिएको डिजिटल सर्वेक्षणको निष्कर्षसहितको प्रतिवेदन पार्टी महासचिव शंकर पोखरेललाई बुझाएको छ।
अभियानका प्रतिनिधिका रूपमा गजेन्द्र थपलिया, रमेश पौडेललगायत नेताहरूले महासचिव पोखरेलसमक्ष उक्त प्रतिवेदन प्रस्तुत गरेका हुन्।
पार्टी पुनर्गठनका विषयमा असार १३ देखि २२ गतेसम्म खुला डिजिटल सर्वेक्षण सञ्चालन गरिएको अभियानले जनाएको छ। सर्वेक्षणमा विदेशमा रहेका व्यक्तिहरूले समेत सहभागिता जनाएको बताइएको छ।
अभियानले सर्वेक्षणमा सहभागीको कुल संख्या सार्वजनिक नगरे पनि प्राप्त प्रतिक्रियाको आधारमा तयार पारिएको प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाइएको जानकारी दिएको छ।
प्रतिवेदनअनुसार सर्वेक्षणमा सहभागीमध्ये ९१ दशमलव ४ प्रतिशतले पार्टी रूपान्तरणको आवश्यकता रहेको पक्षमा मत व्यक्त गरेको दाबी गरिएको छ। यस्तै, वर्तमान अवस्थामै पार्टी अघि बढ्नुपर्ने धारणा ७ दशमलव ४ प्रतिशत सहभागीको रहेको र केही सहभागीले आफ्नो धारणा नदिएको उल्लेख गरिएको छ।
अभियानका अनुसार नेतृत्वमा सुधार, संगठनात्मक पुनर्संरचना तथा युवाको सहभागिता विस्तारजस्ता विषयमा पनि अधिकांश सहभागीले सकारात्मक धारणा व्यक्त गरेका छन्। प्रतिवेदनमा यी विषयमा ९० प्रतिशतभन्दा बढी समर्थन रहेको उल्लेख गरिएको छ।







