काठमाडौँ । नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले कैलालीमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रसन्नराज चौधरीलाई कारवाही स्वरूप जिल्ला तानिएको भन्ने विवरण गलत रहेको बताएका छन्।
डिएसपी चौधरीले हालै सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण उनलाई कारबाही गरिएको वा अन्यत्र पठाइएको भन्ने समाचारमा कुनै सत्यता नरहेको प्रवक्ता काफ्लेले स्पष्ट पारेका हुन्।
उनका अनुसार प्रहरी संगठनभित्रको कमान्ड प्रणालीअनुसार सम्बन्धित विषयमा आवश्यक जानकारी लिने क्रममा प्रदेश तहबाट मौखिक रूपमा बुझ्ने काम मात्र गरिएको हो। चौधरीमाथि निलम्बन, लिखित कारबाही वा कुनै औपचारिक प्रक्रिया अघि नबढाइएको उनले बताए।
प्रवक्ता काफ्लेले सरकारी सेवामा रहेका व्यक्तिले सार्वजनिक कार्यक्रममा सहभागी हुँदा पदको गरिमा, व्यावसायिक मर्यादा र प्रचलित कानुनलाई ध्यान दिनुपर्ने बताए। विशेष गरी कुनै व्यक्ति वा विषय उल्लेख गरेर धारणा राख्दा थप जिम्मेवार र संयमित हुन आवश्यक रहेको उनको भनाइ थियो।
उनले विद्यार्थी लक्षित कार्यक्रममा समेत प्रहरी अधिकारीले शिष्ट, सन्तुलित र व्यावसायिक व्यवहार प्रस्तुत गर्नुपर्ने उल्लेख गरे। चौधरीले कुन सन्दर्भमा उक्त अभिव्यक्ति दिएका हुन् भन्ने विषयमा सामान्य प्रशासनिक र व्यावसायिक दृष्टिले जानकारी लिन खोजिएको उनले बताए।
प्रहरी प्रवक्ता काफ्लेले यस विषयमा भइरहेको प्रक्रिया नियमित जानकारी संकलनको हिस्सा मात्र भएको उल्लेख गर्दै यसलाई कारबाही वा अनुशासनात्मक कदमका रूपमा व्याख्या गर्न नमिल्ने स्पष्ट पारे।







