काठमाडौँ । नक्सालस्थित बाल मन्दिरको जग्गा भाडामा दिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका तीन जनामाथि अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले तीन दिनको म्याद दिएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार नेपाल बाल संगठन र बाल मन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन, २०७७ तथा प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको हो।
सरकार वादी रहेको उक्त मुद्दामा आशा श्रेष्ठसमेतलाई प्रतिवादी कायम गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा बाल मन्दिरको जग्गा भाडासम्बन्धी प्रक्रियामा अनियमित रूपमा रकम लिई ठगी गरेको आरोपमा तीन जनालाई बुधबार पक्राउ गरिएको थियो।
पक्राउ परेकामाथि कानुनी प्रक्रिया पूरा गर्दै थप अनुसन्धान अघि बढाउन अदालतबाट अनुमति लिइएको सीआईबीले जनाएको छ।







