काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैकल्पिक राजनीतिक शक्तिका रूपमा अपेक्षित स्पष्ट नीति, कार्यक्रम र कार्यदिशा प्रस्तुत गर्न नसकेको बताएका छन्।
वैकल्पिक शक्तिसँगै फरक नीति र दीर्घकालीन योजना आउने अपेक्षा जनताले राखेको भए पनि रास्वपाको पछिल्लो कार्यशैलीबाट त्यस्तो स्पष्टता देखिन नसकेको उनको दाबी छ। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै पार्टीले ठोस मार्गचित्रबिना नै शासन सञ्चालनलाई प्रयोगको रूपमा अघि बढाइरहेको आरोप लगाए।
पोखरेलका अनुसार सरकार गठनपछि प्रधानमन्त्री तथा मन्त्रीहरूको प्राथमिकता दीर्घकालीन नीति निर्माणभन्दा तत्कालीन लोकप्रियता हासिल गर्ने गतिविधितर्फ केन्द्रित देखिएको छ। उनले सरकारको कार्यशैलीमा आपसी विरोधाभास देखिन थालेको समेत उल्लेख गरेका छन्।
उनले नयाँ सरकार बनेपछि मुलुकको आर्थिक अवस्थामा अपेक्षित सुधारका संकेत नदेखिएको, बजारमा मूल्यवृद्धि र अवैध कारोबार बढेको तथा शान्ति सुरक्षासम्बन्धी चुनौतीहरू थपिएको दाबी गरे।
सरकारप्रतिको समर्थन र भयको वातावरणका कारण कतिपय पीडित पक्षले न्यायका लागि आवाज उठाउन कठिनाइ महसुस गरिरहेको उनको भनाइ छ। विगतमा अन्यायविरुद्ध बोल्ने नागरिकसमेत पछिल्लो परिस्थितिमा खुलेर अभिव्यक्ति दिन हिच्किचाएको उनले उल्लेख गरेका छन्।
निर्वाचनमार्फत जनसमर्थन प्राप्त गरेको रास्वपाले जनअपेक्षाअनुसार जिम्मेवार शासन सञ्चालन गर्नुपर्नेमा जोड दिँदै पोखरेलले क्षणिक लोकप्रियता वा डरको वातावरण सिर्जना गरेर लामो समय राज्य सञ्चालन गर्न नसकिने बताएका छन्। जनतालाई भ्रममा राखेर नभई स्पष्ट नीति, प्रभावकारी कार्ययोजना र उत्तरदायी शासन प्रणालीबाट मात्रै सुशासन र आर्थिक समृद्धि हासिल गर्न सकिने उनको भनाइ छ।







