काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीले आत्मदाह प्रयास गरेको घटनालाई लिएर संघीय सरकारमाथि उठेका प्रश्नको जवाफ दिँदै स्थानीय तहको कानुनी व्यवस्थाअनुसार प्रक्रिया अघि बढेको बताएका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री गुरुङले उक्त घटना संघीय सरकारको प्रत्यक्ष निर्णय वा कारबाहीका कारण नभएको दाबी गरे। उनले घटनासँग सम्बन्धित विषयमा राज्य संरचनाका विभिन्न तहको जिम्मेवारीबारे स्पष्ट हुनुपर्ने धारणा राखे।
गृहमन्त्री गुरुङले नेपालमा संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार रहेको उल्लेख गर्दै घटनास्थलको प्रशासनिक जिम्मेवारी र अधिकार क्षेत्रबारे ध्यान दिन आग्रह गरे।
उनका अनुसार गणेश नेपालीमाथि गरिएको कारबाही ट्राफिक प्रहरीबाट नभई स्थानीय सरकारको नियम कार्यान्वयनसँग सम्बन्धित विषय थियो। उनले प्रतिनिधिसभामार्फत विपक्षी दलहरूलाई घटनास्थल रहेको स्थानीय तह र प्रदेश सरकारको राजनीतिक जिम्मेवारीबारे समेत प्रश्न गरे।
“घटनास्थलमा ट्राफिकले ह्वील लक गरेको होइन, स्थानीय सरकारले बनाएको कानुन कार्यान्वयन भएको हो,” भन्दै उनले सम्बन्धित नियम निर्माण गर्ने निकाय र त्यसको कार्यान्वयनबीचको सम्बन्ध बुझ्न आवश्यक रहेको बताए।
गृहमन्त्री गुरुङले संघीय शासन प्रणालीमा विभिन्न तहका सरकारको अधिकार र दायित्व छुट्टाछुट्टै हुने उल्लेख गर्दै घटनालाई लिएर संघीय सरकारमाथि मात्र दोषारोपण गर्नु उचित नहुने धारणा व्यक्त गरे।







