काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा बाल विकास शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले आज कैलालीस्थित श्री मुक्त कमैया बाल संरक्षण आधारभूत विद्यालयमा कार्यरत बाल विकास शिक्षिका नन्दा कुमारी शाहीविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवा, लाभ र सुविधा लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार कैलालीको जानकी गाउँपालिका-३, नयाँ लायकपुरस्थित उक्त विद्यालयमा कार्यरत शाहीले २०६६ मंसिर ३ गते बाल विकास शिक्षक पदमा नियुक्ति लिने क्रममा माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट माध्यमिक तह उत्तीर्ण गरेको भन्दै नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेकी थिइन्।
प्राप्त उजुरीमाथि गरिएको अनुसन्धानबाट उनले नक्कली प्रमाणपत्रका आधारमा सरकारी ओहदा, लाभ तथा सुविधा प्राप्त गरेको पुष्टि भएको अख्तियारले जनाएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार शाहीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम कसुर ठहर हुने भएकाले सोही ऐनअनुसार कैद र जरिवानाको माग गर्दै शुक्रबार विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरिएको हो।







