काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् ।
प्रदेश विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रममा बोल्दै उनले विभागीय मन्त्री, सचिव तथा सुरक्षा निकायका प्रमुखहरूलाई विपद्को समयमा सजग र तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।
मुख्यमन्त्री शाहले सम्भावित जोखिम क्षेत्रको पहिचान गरी त्यस्ता क्षेत्रमा समयमै सूचना प्रवाह, उद्धार तथा राहतका कार्यक्रम तयारी अवस्थामा राख्न निर्देशन दिए ।
विपद् व्यवस्थापनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय, साझेदार संस्था, निजी क्षेत्र र तीनै तहका सरकारबीच सहकार्य अपरिहार्य रहेको र आपत्कालीन अवस्थामा प्रभावित क्षेत्रमा सक्रिय रूपमा परिचालन हुन मुख्यमन्त्री शाहले कमाण्ड पोस्टलाई परिचालन गर्न निर्देशन दिए ।







