काठमाडौँ । बाँकेको खजुरा गाउँपालिकाले नेपालगञ्ज-गुलरिया हुलाकी सडकमा अवरोध उत्पन्न भए पनि आवागमन निरन्तर कायम राख्ने उद्देश्यले वैकल्पिक सडक मार्ग निर्माण गरेको छ।
गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकका अनुसार खजुरा बजार खण्डको विकल्पका रूपमा वडा नं. ३ अन्तर्गत आदर्श माध्यमिक विद्यालय, धवलागिरि गाउँ हुँदै बीगाउँसम्म जोडिने सडक निर्माण गरिएको हो। यस मार्ग सञ्चालनमा आएपछि हुलाकी सडकअन्तर्गत खजुरा बजार वा पेडारी नाला आसपास कुनै कारणले यातायात प्रभावित भए पनि सवारीसाधनले वैकल्पिक सडक प्रयोग गरेर नेपालगञ्ज-गुलरिया आवतजावत गर्न सक्नेछन्।
उक्त सडकको उपयोगिता प्रदेश सरकारको ६ करोड १० लाख ९० हजार २८६ रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएपछि अझ प्रभावकारी बनेको गाउँपालिकाले जनाएको छ। पुल सञ्चालनमा आएसँगै यो मार्ग मुख्य सडकको वैकल्पिक पहुँचका रूपमा प्रयोग गर्न सकिने अवस्था सिर्जना भएको हो।
गाउँपालिकाले स्थानीय सडक पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै आठवटै वडाका बस्तीलाई कालोपत्रे सडक सञ्जालमार्फत जोड्ने योजना कार्यान्वयन गरिरहेको जनाएको छ। साथै, प्रत्येक टोलसम्म कालोपत्रे सडक विस्तार गरी धुलोरहित बस्ती निर्माण गर्ने, ढल तथा नाला निर्माण र स्तरोन्नतिमार्फत प्रभावकारी पानी निकासको व्यवस्था मिलाई डुबानमुक्त गाउँ बनाउने लक्ष्यअनुसार पूर्वाधार विकासका काम अघि बढाइएको पनि गाउँपालिकाले जनाएको छ।







