काठमाडौँ । काठमाडौँ उपत्यकामा मोटरसाइकल तथा स्कुटर चोरीका घटनामा वृद्धि देखिएको भन्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरीपछि फेला परेका ५१ वटा दुईपांग्रे सवारी साधन सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको छ।
सोमबार आयोजित कार्यक्रममा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले पछिल्लो एक महिनाको अवधिमा बरामद गरिएका ३५ वटा मोटरसाइकल र १६ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन्।
ट्राफिक प्रहरीका अनुसार अधिकांश चोरीका घटना सार्वजनिक तथा निजी पार्किङस्थलमा लामो समयसम्म छाडिएका सवारी साधनसँग सम्बन्धित रहेका छन्। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० नरेशराज सुवेदीले लामो समयका लागि सवारी पार्किङमा राख्नुपर्ने अवस्था आएमा नजिकको प्रहरी वा ट्राफिक प्रहरी कार्यालयलाई पूर्वसूचना दिन सवारी धनीलाई आग्रह गरेका छन्।
सवारी साधनको सुरक्षा सुदृढ बनाउन प्रविधिको प्रयोगमा समेत जोड दिँदै ट्राफिक प्रहरीले एन्टि-लक प्रणाली, अलार्म प्रणाली र जीपीएस ट्र्याकरजस्ता सुरक्षा उपकरण प्रयोग गर्न सुझाव दिएको छ। यस्ता प्रविधिले सवारी चोरीको जोखिम घटाउनुका साथै चोरी भएमा खोजी कार्यलाई समेत सहज बनाउन सहयोग पुग्ने कार्यालयको विश्वास छ।







