काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लोकतान्त्रिक प्रणालीको सुदृढीकरणका लागि प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र पारदर्शी संसदीय अभ्यासलाई प्राथमिकतामा राख्ने जनाएको छ ।
सञ्चारकर्मीहरूसँग सोमबार भएको छलफलमा रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले लोकतान्त्रिक मूल्य-मान्यताको संरक्षण र मुलुक निर्माणका लागि सबै सरोकारवाला पक्षसँग सहकार्य गरेर अघि बढ्ने धारणा व्यक्त गरे ।
उनले स्वतन्त्र सञ्चारमाध्यम, नागरिकको सूचनामा पहुँच र खुला संसदीय अभ्यास लोकतन्त्रका आधारभूत पक्ष भएको उल्लेख गर्दै पार्टीले यी विषयलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको बताए ।
प्रमुख सचेतक बुर्लाकोटीले संविधान निर्माण तथा लोकतान्त्रिक प्रक्रियामा आफ्नो दलको भूमिका रहेको उल्लेख गर्दै देश विकास र संस्थागत सुधारका काममा निरन्तर सक्रिय रहने बताए । उनका अनुसार मुलुक निर्माणका लागि साझा प्रयास आवश्यक रहेको र त्यस दिशामा पार्टी प्रतिबद्ध भएर अघि बढिरहेको छ ।
उनले नेपाललाई विकसित लोकतान्त्रिक मुलुकहरूको स्तरमा पुर्याउने लक्ष्य भए पनि त्यसका लागि आवश्यक कानुनी व्यवस्था, पूर्वाधार विकास र सोचमा परिवर्तन ल्याउन समय लाग्ने बताए । यद्यपि त्यसका लागि आवश्यक अभ्यास र पहल भने प्रारम्भ भइसकेको उनको भनाइ थियो ।
रास्वपाले लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको अधिकार र संसदीय पारदर्शितालाई एक अर्कासँग जोडिएका महत्वपूर्ण आधारका रूपमा लिएको जनाएको छ ।
सत्ता समीकरण र संसदीय भूमिकाको सन्दर्भ उल्लेख गर्दै बुर्लाकोटीले मुलुकको समग्र विकासका लागि सञ्चार क्षेत्रबाट प्राप्त सुझाव र सहकार्यलाई सकारात्मक रूपमा ग्रहण गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।







