काठमाडौँ । नेकपा (एमाले) का मुख्य सचेतक ऐनबहादुर महरले वर्तमान सरकार असफल भए मुलुकको समग्र लोकतान्त्रिक पद्धति, गणतन्त्र र धर्मनिरपेक्षतामाथि नै प्रश्न खडा हुने चेतावनी दिएका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकलाई सम्बोधन गर्दै प्रमुख सचेतक महरले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै यस्तो चेतावनी दिएका हुन् ।
प्रमुख सचेतक महरले राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले प्राप्त गरेको जनमत कुनै व्यक्ति विशेषको नभई समग्र युवा पुस्ताको विश्वासको अभिव्यक्ति भएको टिप्पणी गरे ।
महरले पछिल्लो समय स्थापित गर्न खोजिएको ‘३५ वर्षमा मुलुकमा केही पनि भएन’ भन्ने भाष्यको प्रतिवाद गरेका छन् ।
प्रजातन्त्र पुनर्बहाली पछिको अवधिमा भएका प्रगतिलाई नजरअन्दाज गर्न नमिल्ने तर्क गरे । महरले सरकारले ‘राज्य आतंक’ सिर्जना गरेको आरोप लगाए । उनले यातायात अवरोध गर्नेहरूलाई सामान्य जरिवानामा छोड्ने तर शान्तिपूर्ण विरोध गर्ने विद्यार्थीमाथि धरपकड गर्ने कार्य ‘रुल अफ ल’ नभई ‘रुल बाई ल’ भएको टिप्पणी गरे ।
करारमा रहेका करिब ६४ हजार कर्मचारीलाई निष्कासन गर्ने सरकारको तयारीप्रति लक्षित गर्दै उनले विदेशबाट रोजगारी दिन्छु भनेर युवा फिर्ता बोलाउने सरकारले स्वदेशमा कार्यरतलाई बेरोजगार बनाउनु विरोधाभासपूर्ण भएको टिप्पणी गरे । उनले वर्षायाममा हुने प्राकृतिक प्रकोप न्युनिकरणका लागि सरकारको पूर्वतयारी शून्य रहेको भन्दै ध्यानाकर्षण गराए । कम्युनिस्ट विचार र सिद्धान्तमाथि अर्थमन्त्रीले गर्ने गरेका टिप्पणीहरूको आलोचना गर्दै महरले सामाजिक न्याय र विधिको शासनका लागि कम्युनिस्ट सिद्धान्त सान्दर्भिक रहेको दाबी गरे । उनले सरकारलाई ‘टाउकोले टेकेर उल्टो बाटो’ नहिँड्न र जनताको जीवनस्तर सुधारका लागि वास्तविक काम गर्न चुनौती दिए ।
उनले सरकारी ढुकुटीबाट पारिश्रमिक लिने सबै जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउने नीति ल्याउन सरकारलाई चुनौती दिँदै केवल रङ फेर्ने ‘निलो क्रान्ति’ भन्दा पनि जनताको अवस्था फेर्ने क्रान्ति आवश्यक रहेकोमा जोड दिए ।







