काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो समय समाजमा क्षणिक लोकप्रियता र अवसर खोज्ने प्रवृत्ति बढ्दै गएको बताएका छन्। उनले प्रविधिको गलत प्रयोगका कारण भ्रमपूर्ण धारणा निर्माण हुने अवस्था सिर्जना भएको भन्दै यसप्रति सचेत हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
नेकपा (एमाले) को केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पार्टी वेबसाइट परिमार्जन तथा नयाँ स्वरूप सार्वजनिक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सूचना प्रविधिको प्रयोग समाजलाई सही दिशातर्फ लैजानका लागि हुनुपर्ने बताए।
उनले सामाजिक सञ्जाललगायत डिजिटल माध्यमको दुरुपयोगमार्फत तथ्यभन्दा बाहिरका धारणा स्थापित गर्ने प्रयास भइरहेको उल्लेख गरे। राजनीतिक र वैचारिक बहसलाई सकारात्मक दिशामा लैजानुपर्ने अवस्थामा प्रविधिको गलत प्रयोगले समाजमा अन्योल सिर्जना गरेको उनको भनाइ थियो।
महासचिव पोखरेलले पछिल्ला राजनीतिक घटनाक्रममा सूचना प्रविधि आफैँ चुनौतीका रूपमा देखिएको टिप्पणी गरे। कृत्रिम बौद्धिकता (एआई) लगायत आधुनिक प्रविधिको प्रयोगबाट गलत सूचनालाई सही र सही सूचनालाई गलत रूपमा प्रस्तुत गर्ने सम्भावना बढेको भन्दै उनले प्रविधिको विश्वसनीय प्रयोग सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याए।
उनका अनुसार डिजिटल माध्यममा प्रयोग हुने प्रणाली र प्रविधिगत प्रक्रियाले मानिसको सोच र दृष्टिकोणलाई समेत प्रभावित पार्न सक्ने भएकाले सही सूचना प्रवाह स्थापित गर्नु अहिलेको महत्वपूर्ण चुनौती बनेको छ।
पोखरेलले प्रविधिसँगै अगाडि बढिरहेको नयाँ पुस्तालाई उचित वैचारिक तथा राजनीतिक चेतनासँग जोड्नुपर्नेमा जोड दिए। नयाँ पुस्तासम्म सही विचार र दृष्टिकोण पुर्याउन नसकिए राष्ट्रिय भावना, सामाजिक सम्बन्ध, भाषा तथा संस्कृतिमा असर पर्न सक्ने उनले बताए।
एमाले समयअनुसार आफूलाई परिमार्जन गर्दै अघि बढ्न सक्ने पार्टी भएको दाबी गर्दै उनले बदलिँदो सामाजिक परिवेश र नयाँ पुस्ताको सोचअनुसार पार्टीका गतिविधि तथा सञ्चार माध्यमलाई अद्यावधिक गर्दै लैजाने बताए।
उनले प्रविधिको विकासले मानव क्षमतालाई विस्तार गरेको उल्लेख गर्दै त्यसलाई बेवास्ता गरेर अघि बढ्न नसकिने धारणा राखे। प्रविधिलाई सकारात्मक र रचनात्मक रूपमा प्रयोग गर्नु वर्तमान समयको प्रमुख आवश्यकता रहेको उनको भनाइ थियो।
कार्यक्रममा पार्टी वेबसाइटलाई नयाँ स्वरूपमा विकास गर्नुको उद्देश्य नयाँ पुस्तासँग प्रभावकारी सम्पर्क स्थापित गर्नु र पार्टीका विचार तथा गतिविधिलाई आधुनिक माध्यमबाट विस्तार गर्नु रहेको जानकारी दिइएको थियो।







