बुढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को योजना, नीति तथा कार्यक्रमसँगै आर्थिक सर्वेक्षण र वार्षिक प्रकाशन सार्वजनिक गर्दै तथ्यमा आधारित योजना निर्माण, वित्तीय पारदर्शिता, सुशासन र उत्तरदायी शासनलाई थप संस्थागत गर्ने प्रतिबद्धता जनाएको छ।
काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नगर विकास योजना, नीति तथा कार्यक्रम, आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण तथा आर्थिक वर्ष २०८२-०८३ का प्रमुख उपलब्धि, विकास गतिविधि, वित्तीय अवस्था र संस्थागत प्रगतिसहितको वार्षिक प्रकाशन एकै समारोहबीच सार्वजनिक गरेको छ।
स्थानीय सरकार सञ्चालनमा योजना, नीति, बजेट तथा कार्यसम्पादनलाई थप व्यवस्थित, तथ्यमा आधारित, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यले तयार गरिएका यी दस्तावेज सार्वजनिक गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका अनुसार असार महिनाभित्रै यी दस्तावेज सार्वजनिक गर्न सफल भएसँगै बुढानीलकण्ठ नगरपालिका नेपालका ७५३ स्थानीय तहमध्ये असार महिनाभित्रै वार्षिक पुस्तक प्रकाशन गर्ने पहिलो नगरपालिकाका रूपमा स्थापित भएको छ।
सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणले नगरको आर्थिक तथा सामाजिक अवस्थाको यथार्थ चित्र प्रस्तुत गर्नुका साथै आगामी योजना तथा बजेट निर्माणका लागि आवश्यक तथ्यगत आधार उपलब्ध गराएको छ। वार्षिक प्रकाशनमा आर्थिक वर्षभर सम्पन्न भएका प्रमुख विकास आयोजना, सेवा प्रवाह सुधारका प्रयास, सामाजिक, आर्थिक, पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण, सुशासन तथा संस्थागत विकाससँग सम्बन्धित उपलब्धि समेटिएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख मिठाराम अधिकारीले स्थानीय सरकारको प्रभावकारिता समयमै योजना निर्माण, पारदर्शी वित्तीय व्यवस्थापन र नागरिकप्रतिको उत्तरदायित्वमा निर्भर रहने बताए।
उनले वार्षिक नगर विकास योजना, नीति तथा कार्यक्रम, आर्थिक सर्वेक्षण र वार्षिक प्रकाशन समयमै सार्वजनिक गर्नु नगरपालिकाको सुशासन, पारदर्शिता र उत्तरदायी शासनप्रतिको प्रतिबद्धताको प्रमाण भएको बताए। विकासका निर्णय अब अनुमानका आधारमा नभई तथ्य र प्रमाणका आधारमा हुने उल्लेख गर्दै उनले यस उपलब्धिको श्रेय जनप्रतिनिधि, कर्मचारी, विकास साझेदार, सञ्चारमाध्यम, नागरिक समाज तथा नगरवासीलाई दिए। आगामी दिनमा नागरिकको अपेक्षाअनुसार गुणस्तरीय, प्रविधिमैत्री र परिणाममुखी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
नगर उपप्रमुख अनिता लामाले स्थानीय सरकारको सफलताको आधार नागरिक सहभागिता, समावेशी योजना र वित्तीय अनुशासन भएको बताइन्। योजना निर्माणदेखि कार्यान्वयनसम्म नागरिक सहभागिता सुनिश्चित गर्दै महिला, युवा, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा सबै समुदायको प्रतिनिधित्वलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै उनले सार्वजनिक गरिएका दस्तावेजले नगरको विकास यात्रालाई थप व्यवस्थित, उत्तरदायी र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिन्। यस महत्वपूर्ण कार्यमा सहयोग पुर्याउने सम्पूर्ण सरोकारवालाप्रति उनले धन्यवाद व्यक्त गरिन्।
प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले निर्धारित समयमै योजना, आर्थिक सर्वेक्षण र वार्षिक प्रकाशन सार्वजनिक हुनु संस्थागत समन्वय, जिम्मेवारीबोध र परिणाममुखी कार्यसंस्कृतिको प्रतिफल भएको बताए। जनप्रतिनिधि, विषयगत महाशाखा, शाखा, वडा कार्यालय तथा सम्पूर्ण कर्मचारीबीचको प्रभावकारी समन्वय, निरन्तर मेहनत र जिम्मेवारीबोधका कारण निर्धारित समयमै यी महत्वपूर्ण दस्तावेज तयार गरी सार्वजनिक गर्न सम्भव भएको उनले बताए।
उनले आगामी दिनमा डिजिटल सुशासन, तथ्यमा आधारित निर्णय प्रणाली, वित्तीय पारदर्शिता र प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई थप संस्थागत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे। ‘तथ्यमा आधारित निर्णय, समयमै योजना निर्माण र पारदर्शी वित्तीय व्यवस्थापनलाई स्थानीय सरकारको संस्थागत कार्यसंस्कृतिका रूपमा स्थापित गर्नु हाम्रो प्राथमिकता हो,’ उनले भने।
नगरपालिकाले यस उपलब्धिमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने जनप्रतिनिधि, कर्मचारी, विषयगत महाशाखा तथा शाखा, वडा कार्यालय, सञ्चारकर्मी, विकास साझेदार, नागरिक समाज, सुरक्षा निकाय तथा सम्पूर्ण नगरवासीप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ।
नगरपालिकाका अनुसार समयमै सार्वजनिक गरिएका यी दस्तावेजले विकास योजना कार्यान्वयन, बजेट व्यवस्थापन, सार्वजनिक उत्तरदायित्व, वित्तीय अनुशासन, संस्थागत सुशासन तथा नागरिकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनेछन्। साथै आगामी दिनमा बुढानीलकण्ठलाई सुशासित, समृद्ध, स्मार्ट र नागरिकमैत्री नगरपालिकाका रूपमा विकास गर्न यस्ता अभ्यासलाई निरन्तरता दिइने जनाएको छ।







