काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विदुषी राणाले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वा सञ्चालकलाई भविष्यमा अयोग्य ठहर गर्नेगरि कारबाही गर्न नहुने बताएकी छन्।
प्रतिनिधि सभाको अर्थ समितिको आइतबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा सांसद राणाले यस्तो बताएकी हुन् ।
उनले सामान्य अनुशासनको कारबाही वा सचेत गराएकै आधारमा बैंकका सीईओ वा सञ्चालकलाई भविष्यमा समेत अयोग्य ठहर गर्ने गरी कारबाही हुने व्यवस्था राखिएमा बैंकिङ क्षेत्रमा नेतृत्व संकट उत्पन्न हुनसक्ने चेतावनी दिइन ।
सामान्य चेतावनी, लिखित चेतावनी वा जरिवाना जस्ता साना अनुशासनात्मक कारबाहीलाई समेत भविष्यमा अयोग्य हुने आधार बनाएमा सक्षम व्यक्तिहरू बैंकको नेतृत्व सम्हाल्न नआउने अवस्था सिर्जना हुने उनको तर्क छ ।







