काठमाडौँ । उच्च अदालत विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा दर्ता भएका कुल मुद्दामध्ये ५७ प्रतिशतको फैसला गरेको जनाएको छ। अदालतका अनुसार गत आर्थिक वर्षमा पुराना जिम्मेवारीसहित नयाँ दर्ता भएका गरी ७ हजार १५७ मुद्दामध्ये ४ हजार ९९ वटा मुद्दा फर्छ्योट भएका हुन्।
अदालतले मुद्दा व्यवस्थापनलाई प्रभावकारी बनाउने क्रममा दुई वर्षभन्दा पुराना मुद्दाको संख्या शून्यमा झारेको जानकारी दिएको छ। यद्यपि, १८ महिनाभन्दा बढी समयदेखि विचाराधीन रहेका ८७ वटा मुद्दा अझै प्रक्रियामा रहेको जनाएको छ।
उच्च अदालत विराटनगरले सञ्चारकर्मीहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले अदालतका कामकारबाही, फैसला प्रगति र व्यवस्थापकीय सुधारका विषयमा जानकारी गराएका थिए। उनले विगतमा भएको जेन जेड आन्दोलनका क्रममा केही मुद्दाका मिसिल नष्ट भएकाले केही पुराना मुद्दाको सुनुवाइ तथा फैसला प्रक्रियामा असर परेको बताए।
अदालतका अनुसार आन्दोलनका क्रममा विचाराधीन अवस्थाका ४७ वटा मुद्दाका मूल मिसिल अझै प्राप्त हुन सकेका छैनन्। अभिलेख व्यवस्थापनमा समेत ठूलो क्षति पुगेको उल्लेख गर्दै अदालतले करिब ७० हजार मुद्दासँग सम्बन्धित अभिलेख जलेको र त्यसमध्ये १ हजार ६ सय मुद्दाको पुनः मिसिल तयार पारिएको जनाएको छ।
अन्तरक्रिया कार्यक्रममा अदालतले पछिल्लो अवधिमा भएका फैसलाको अवस्था, प्रशासनिक सुधारका पहल तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने योजनाबारे समेत जानकारी प्रस्तुत गरेको थियो। अदालतले अभिलेख पुनः स्थापना र बाँकी मुद्दाको शीघ्र व्यवस्थापनलाई प्राथमिकतामा राखिएको जनाएको छ।







