काठमाडौँ । नेपाल पर्यटन बोर्डले निजी क्षेत्रबाट नियुक्त नयाँ कार्यकारी समिति सदस्यहरूको स्वागत गर्दै पर्यटन क्षेत्रको विकासमा सरकार–निजी क्षेत्र सहकार्य, सुशासन र परिणाममुखी कार्यसम्पादनलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन १ गते निजी क्षेत्रको प्रतिनिधित्व गर्ने पाँच जना सदस्यलाई बोर्डको कार्यकारी समितिमा नियुक्त गरेको थियो। उनीहरूलाई सोमबार बोर्डमा आयोजित कार्यक्रममा निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले स्वागत गरेका हुन्।
कार्यक्रममा निमित्त कार्यकारी प्रमुख ऐरले बोर्डको स्थापना उद्देश्य, संस्थागत संरचना, नीति तथा कार्यक्रम, हालसम्मका उपलब्धि, गत आर्थिक वर्षमा सम्पन्न गतिविधि तथा पर्यटन क्षेत्रका अवसर र चुनौतीबारे जानकारी गराएका थिए। उनले नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने लक्ष्यसहित नेपाल आरोग्य वर्ष २०२७ अभियानलाई सफल बनाउन बोर्ड सक्रिय रहेको पनि बताए।
स्वागत कार्यक्रममा पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि सार्वजनिक र निजी क्षेत्रबीचको साझेदारीलाई थप प्रभावकारी बनाउँदै नतिजामुखी ढंगले कार्यक्रम सञ्चालन गर्ने विषयमा साझा प्रतिबद्धता व्यक्त गरिएको थियो।
नवनियुक्त सदस्य सन्तोष पोखरेलले पर्यटन क्षेत्रको विकासका लागि सबै सरोकारवालाबीच समन्वय र सहकार्य बढाउँदै नवीन सोच र कार्यपद्धतिका साथ काम गर्ने प्रतिबद्धता जनाए।
सदस्य सिर्जना केसीले पर्यटन क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि सूचना प्रविधिको प्रभावकारी उपयोग आवश्यक रहेको उल्लेख गर्दै निजी क्षेत्रका समस्या समाधानका लागि सरकार र व्यवसायीबीच समन्वयकारी भूमिका निर्वाह गर्ने बताइन्।
त्यसैगरी, सदस्य सहदेव धमलाले पर्यटनसम्बन्धी नीतिगत तथा व्यावहारिक समस्या समाधानमा बोर्डले सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखे। उनले आगामी बजेट पर्यटन क्षेत्रको संरक्षण, संवर्द्धन र प्रवर्द्धनलाई केन्द्रमा राखेर तर्जुमा हुनुपर्ने सुझाव दिए।
बोर्ड सदस्य पेम्बा शेर्पाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिको प्रक्रिया शीघ्र अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै बोर्डका प्राथमिकताका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
सदस्य डा. सोविता श्रेष्ठ ढकालले दिगो पर्यटन विकासका लागि गुणस्तरीय सेवा, अनुसन्धानमा आधारित नीति निर्माण, सुशासन र प्रभावकारी व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने बताउँदै यसका लागि सबै सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरिन्।







