काठमाडौँ । काठमाडौँको बौद्धमा एक युवतीले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी छन्।
काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भई हाल बौद्ध बस्दै आएकी २७ वर्षीया सालु गुरुङले सोमबार दिउँसो करिब २: ५० बजे आत्मदाहको प्रयास गरेकी हुन्। आगोले गुरुङको अनुहार, छाती र दुवै हात गरी शरीरको करिब ५० प्रतिशत भाग जलेको छ।
घटना लगत्तै उनलाई उद्धार गरी सुरुमा गोकर्णेश्वर–६ स्थित सुष्मा कोइराला मेमोरियल अस्पताल लगेर सामान्य उपचार गराइएको थियो। पछि थप र गहन उपचारका लागि उनलाई कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
विवाहित गुरुङले बौद्ध क्षेत्रमै खाजा घर सञ्चालन गर्दै आएकी थिइन्। प्रारम्भिक अनुसन्धानअनुसार घरायसी विवादपछि उनले आत्मदाहको प्रयास गरेको देखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







