काठमाडौँ । काठमाडौँ महानगरपालिका-६ बौद्ध गेट नजिक एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको घटनामा गम्भीर घाइते भएकी छन्।
प्रहरीका अनुसार सोमबार दिउँसो करिब २:५० बजे काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-३ स्थायी घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका-८ माकलबारी बस्दै आएकी २७ वर्षीया सालु गुरुङले उक्त घटना गराएकी हुन्।
प्रारम्भिक अनुसन्धानअनुसार श्रीमानसँग भएको विवादपछि दुवैले सञ्चालन गर्दै आएको खाजा घरको पछाडिको पार्किङ क्षेत्रमा उनले शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन्। घटनालगत्तै श्रीमानले देखेपछि आगो निभाएका थिए।
घाइते गुरुङलाई तत्काल उपचारका लागि शुश्रुषा कोइराला मेमोरियल अस्पताल, साँखु पुर्याइएको थियो। अस्पतालका अनुसार उनको अनुहार, छाती तथा दुवै हातमा गरी करिब ५० प्रतिशत भाग जलेको छ। उनी सामान्य बोल्न सक्ने अवस्थामा रहेकी थिइन्।
प्राथमिक उपचारपछि साँझ करिब ५:४० बजे थप उपचारका लागि उनलाई कीर्तिपुर अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







