काठमाडौँ । जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई जग्गाधनी दर्ता प्रमाण-पुर्जा (लालपुर्जा) हस्तान्तरण गरेको छ।
लालपुर्जा प्राप्त गर्नेमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी परिवार रहेका छन्। लामो समयदेखि आफ्नो नाममा जग्गाको कानुनी स्वामित्व नभएका उनीहरू प्रमाण-पुर्जा प्राप्त गरेसँगै सम्बन्धित जग्गाका वैधानिक धनी बनेका छन्।
सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनलाई प्राथमिकतामा राख्दै देशभर जग्गाधनी प्रमाण-पुर्जा वितरण अभियानलाई निरन्तर विस्तार गरिरहेको छ।
यसै क्रममा झापाको कनकाई नगरपालिकामा पनि बिहीबार भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी पाँच परिवारलाई जग्गाधनी दर्ता प्रमाण-पुर्जा वितरण गरिएको छ।
सरकारले विभिन्न जिल्लामा भूमि व्यवस्थापनसम्बन्धी कार्यक्रममार्फत भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई कानुनी रूपमा जग्गाधनी बनाउने प्रक्रिया निरन्तर अघि बढाइरहेको जनाएको छ।






