काठमाडौँ । संघीय संसद् अन्तर्गतको विधायन व्यवस्थापन समितिले आफ्ना सदस्यका लागि आयोजना गर्ने अभिमुखीकरण कार्यक्रम सिंहदरबारभित्रै सञ्चालन गर्ने निर्णय गरेको छ।
समितिको शुक्रबार बसेको बैठकमा सभापति कृष्णबहादुर रोकायले आर्थिक स्रोतको सीमितता र खर्च व्यवस्थापनलाई ध्यानमा राख्दै संसद् परिसरकै सभा हल प्रयोग गरेर कार्यक्रम आयोजना गरिने जानकारी दिए।
बैठकमा केही सदस्यहरूले नयाँ वातावरणमा छलफल गर्न र प्रभावकारी अन्तरक्रियाका लागि सिंहदरबार बाहिर कार्यक्रम आयोजना गर्न सुझाव दिएका थिए। तर समितिले उपलब्ध स्रोतको अवस्था र मितव्ययिताको आवश्यकतालाई आधार बनाउँदै कार्यक्रम बाहिर नगर्ने निर्णय गरेको हो।
समितिले हालै कानून मापन तथा अन्तर-विधायी सम्बन्धसम्बन्धी दुई उपसमिति गठन गरेको छ। ती उपसमितिका सदस्यलाई जिम्मेवारी र कार्यक्षेत्रबारे जानकारी गराउने तथा कानून मापनको आवश्यकता, आधार र प्रक्रियाबारे विज्ञमार्फत अभिमुखीकरण गराउने उद्देश्यले कार्यक्रम गर्न लागिएको सभापति रोकायले बताए।
उनका अनुसार विज्ञलाई उपलब्ध गराइने पारिश्रमिकको विषयमा पनि समितिले स्पष्ट व्यवस्था गरेको छ। हालको मापदण्डअनुसार विज्ञलाई एक सत्रबापत पाँच हजार रुपैयाँसम्म मात्र भुक्तानी गर्न सकिने र कार्यक्रमका लागि छुट्टै बजेट व्यवस्था नभएकाले बाहिरी स्थानमा आयोजना गर्न कठिनाइ रहेको उनले जानकारी दिए।






