भोजपुरको प्रमुख जिल्ला अधिकारीका रूपमा गृह मन्त्रालयबाट पोस्टिङ भएको थाहा पाएपछि एक जना शुभेच्छुकले भन्नुभयो, “सधैँ घुमिरहन मन पराउने तपाईँलाई मुन्दुम पदमार्गले भने राम्रै रूपले स्वागत गर्न पाउनेछ।” मेरो मनमा यो वाक्य निकै नै रुचिकर लागेको भए तापनि भोजपुर आइपुग्नेबित्तिकै प्रतिनिधिसभाको निर्वाचनको जिम्मेवारीले छपक्कै छोप्यो र मैले त्यतातिर ध्यान दिन पाएको थिइनँ। यसो फुर्सद मिल्दा बिहानी वा साँझ यात्रा गर्दा नगर क्षेत्रभित्र पनि मुन्दुम पदमार्गका चिह्नहरू राखेको पाइए पनि त्यसले खासै ध्यान आकर्षण गर्न सकेको थिएन। आखिर भोजपुरमा थपक्कै मन लाग्नेबित्तिकै घुम्न गइहाल्नुजस्तो देखिने ठाउँ पनि कहाँ छ र ? त्यही चखेवा भञ्ज्याङदेखि लेगुवाघाटसम्म मध्यपहाडी सडक छ, सजिलो यात्रा गर्न। त्यो पनि एक पटक खुर्र यात्रा गर्दा सकिइहाल्यो। अनि त घुम्ने मेरो रहर कुण्ठित नै रहेको थियो।

आमचोक गाउँपालिकामा नागरिकता वितरणको शिविर सञ्चालन गरेर फर्कँदा बाटोमा डाक्वुराङ पार्क देखेपछि भने भोजपुरको पक्की सडक सञ्जालले नछोएको प्रकृतिको अनुपम सौन्दर्यको दृश्यपान गर्ने अवसर पाइयो। डाक्वुराङ पार्कमा रमाएको मेरो तन अनि मन देखेपछि साथीहरूले भने, “तावा भञ्ज्याङ त योभन्दा भव्य देखिन्छ।” त्योभन्दा राम्रो छ भनेपछि त मलाई झन् के चाहियो र? अनि लागियो सरासर तावा भञ्ज्याङको यात्रामा।
चिलाउने र कटुस उन्मत्त भएर फुलेको हरियो वनको बीचबाट डोजर ड्राइभरको इन्जिनियरिङ डिजाइनमा बनेको कच्ची बाटोमा बोलेरो गाडीमा जिउ मर्काउँदै करिब एक घण्टामा हामी तावा भञ्ज्याङ पुगेका थियौँ। मानिसले संस्कृति, पर्यटन, आध्यात्मिकता, धर्म, प्रथा, परम्परा, कृषि अनि प्रकृतिको संरक्षण गर्न के-कस्ता काम एकै पटक गर्न सक्छ भन्ने थाहा पाउन तावा भञ्ज्याङ एउटा नवीन र जीवन्त स्थल रहेछ। जे बनाइएको छ, स्थानीय सामग्री र काठबाट बनाइएको रहेछ। कृषि उत्पादनलाई जोड दिन पाखैभरि चिया र स्थानीय बाली लगाएको पाइयो। गाईबस्तु भित्र छिर्छन् कि भनेर तयार गरिएको ‘एनिमल ट्र्याप’ पनि रुखका मुढाको प्रयोग गरेर जैविक रूपमा बनेको अन्त कतै देखिएको थिएन। ढुङ्गाका कापबाट लवण घोलेर प्रकृतिले सिर्जना गरेको पानी ढुङ्गाकै कुलेसोबाट झारेर अति नै तृप्त भएको मानिसलाई पनि पानी खुवाएरै छोड्ने प्राकृतिक कला अचम्मकै लाग्यो। फेरि मलाई ढुङ्गेधारा देख्यो कि त्यहीँ मुख गाडेर धित मर्ने गरी पानी पिउने प्यास जागेर आउँछ। नाकमा जुका पस्छ भनेर साथीहरूले सजग नगराएका होइनन्, तर प्रकृतिको मादकतामा मदमत्त भएको प्यासीलाई त्यस्ता सचेतनाप्रति कुनै वास्ता र मतलब नहुने रहेछ।
किराँत सभ्यतामा चिण्डोको विशिष्ट महत्त्व छ। हरियो कार्पेट ओछ्याइएझैँ देखिने डाँडाको फेदमा बनेको चिण्डो आकारको पोखरी तावा भञ्ज्याङको अझ मौलिक स्थलका रूपमा देखियो। प्राकृतिक रूपले हरियाली रहेकैले उक्त स्थानमा पानीका मुहानहरूको प्रचुरता पनि रहेछ। त्यसैले त्यहाँ भएको ढुङ्गेधारामा अविच्छिन्न जलप्रवाह भइरहने रहेछ। काठमाडौँमा रहेर पानी फारु गर्ने संस्कार विकास भइसकेकाहरूलाई त धारामा पानी बगिरहेको देख्दा पनि अत्यन्तै लोभ लाग्ने क्या!
तावा भञ्ज्याङको प्राकृतिक भव्यता देखेपछि नै हो, मेरो मनमा मुन्दुम पदमार्गमा यात्रा गरिहाल्ने तुलबुल अचाक्ली भएको। त्यसैको जोडबलमा पदमार्गमा यात्रा गरियो र यात्राबाट भरपुर रूपमा मक्ख र हुनसम्म छुकछुक पनि गरियो। छुकछुक यस अर्थमा कि गुराँसको त्यस्तो घना वनमा डाँडाभरि गुराँस फुल्ने मौसममा पनि मुन्दुम पदमार्गलाई उपेक्षा गरेर सम्भाव्य प्राकृतिक दृश्यपानबाट वञ्चित रहियो। फेरि अर्को वर्ष गुराँस यस वर्षजस्तै फुल्ने हो वा होइन; फुले पनि मेरो जागिर भोजपुरमै रहने हो वा होइन, केही भर छैन।
नेपाल सरकारले २०७५ सालमा नेपाल भ्रमण वर्ष २०२० समेतलाई मध्यनजर गरी घुम्नैपर्ने नयाँ सयवटा गन्तव्यमा भोजपुरको टेम्के डाँडा एवं मुन्दुम पदमार्ग सूचीकृत गरेसँगै यस क्षेत्रको लोकप्रियता बढ्न थालेको हो। स्विस सरकारसमेतको लगानीमा नेपाल सरकार, कोशी प्रदेश एवं भोजपुर र खोटाङका स्थानीय सरकारहरूको संयुक्त लगानीमा बन्दै गरेको मुन्दुम पदमार्ग आफैँमा धर्म, संस्कृति, पर्यटन र आध्यात्मको सङ्गमस्थल हो। उसो त सांस्कृतिक सम्पदाहरू नै नेपालको पर्यटन क्षेत्रका मेरुदण्डहरू हुन्। प्रकृतिलाई नै धर्मको प्रमुख अङ्गका रूपमा स्वीकार गर्ने किराँतीहरूको क्षेत्रमा किराँत संस्कृतिका परम्परागत मूल्य-मान्यताहरू, जैविक विविधता तथा हिमाली पर्यावरणको अनुभवका लागि महत्त्वपूर्ण रूपमा रहेको छ। दूधकोशी, अरुण र तमोर नदीको त्रिवेणी एवं सप्तकोशी नदीको उत्पत्तिस्थलबाट सोलुखुम्बुको उत्तरी भेगसम्म किराँती सभ्यतालाई जोडेर बनेको मुन्दुम पदमार्गमा रुट विस्तार, होमस्टेहरूको गुणस्तरमा सुधार र यस क्षेत्रको डिजिटल मार्केटिङको काम भइरहेको छ।
संयोग यसरी मिल्यो कि यही समयमा नेपाल सरकारले हप्ताको दुई दिन सार्वजनिक बिदा दियो। केही गरी शुक्रबार वा सोमबार पनि सार्वजनिक बिदा परेको खण्डमा त झन् बिदा लामै हुने रहेछ। यसैले त हामीलाई जिल्ला भ्रमण पनि हुने गरी बिदाको अवसर सदुपयोग गर्ने मौका पनि मिलेछ र बिदा भयो कि समूहमा हिँड्ने अवसर पनि पाइयो। नेपालका धेरै पदमार्गमा हिँड्ने मौका पाइयो, तर मुन्दुम पदमार्ग जतिको खास र मोहनी अरूले लगाउन सकेका थिएनन्। यसका केही खास कारणहरू पनि छन्।
पहिलो, त यो भर्जिन पदमार्ग हो। नयाँ बन्दै छ, निर्माण कार्य भइरहेको छ। मैले ढुङ्गा बोक्नका लागि प्रयोग गर्ने काठको डोको, जसलाई स्थानीय भाषामा खुर्सिङ भनिँदो रहेछ, यहीँ हो देखेको। काठको डोकोजस्तो साधनमा ढुङ्गा बोकेर नै यहाँका स्थानीयहरूले यो ट्रेलको निर्माण गरिरहेका छन्। मेसिन, प्रविधि तथा औजारको उन्नत उपयोग हुने समयमा पनि प्राकृतिक साधनको प्रयोग गरेर विकासको काम सञ्चालन गरिएको अर्गानिक पद्धतिको विकासको मोडल यसले अवलम्बन गरिरहेको छ।
दोस्रो, पदमार्गमा यात्रा गर्ने पदमार्गीहरू झुक्किन्छन् कि भनेर घाँसे मैदानको क्षेत्रमा पनि ढुङ्गाको स्पष्ट चिह्न दिइएको छ। ढुङ्गाको सोलिङ गरिएको बाटोमा हिँड्दा यात्रीलाई कठिनाइ हुन्छ कि भनेर सोलिङको माथि पातलो माटोको तह स्थापित गराइएको छ। डाँडैडाँडा यात्रा गर्न मिल्ने भएकाले ठाडो र लामो उकालो-ओरालो छैन, जसका कारणले यात्रीले थकानको महसुस गर्ने अवसर नै पाउने रहेनछन्।
तेस्रो, जे बनिएको छ, पूर्णतया जैविक वस्तुहरूबाट बनाइएको छ। बाटोमा खाजा खानका लागि तयार गरिएका बेन्च अनि टेबुल पनि ढुङ्गाबाट नै बनिएका छन्। डस्टबिनसमेत ढुङ्गाको पर्खाल लगाएर तयार गरिएको छ। उक्त क्षेत्रमा वृक्षरोपण गरिनुका साथै खोल्साको पानी बग्नका लागि ड्रेनसमेत ढुङ्गाकै पर्खाल लगाएर निर्माण गरिएको छ।

चौथो, खुवालुङ, तावा भञ्ज्याङ, टेम्के डाँडा, चखेवा, कालुमान पार्क, हाँसपोखरी, मैयुङ, साल्पा पोखरी, सिलिचुङसम्मको पदमार्ग निर्माण गर्नका लागि भोजपुर र खोटाङका स्थानीय तहहरूको भरपुर सहभागिता र सहकार्य रहेको छ। किराँती सभ्यताको जीवन्त चित्रण गर्नका लागि सोहीबमोजिमका आकृति एवं चिह्नहरूको उपयोग पदमार्गमा गरिएको छ।
पाँचौँ, कम भिडभाड र शान्त वातावरणमा पदयात्रीले यात्रा गर्ने अवसर पाउने रहेछन्। भिडभाड नहुने र शान्त परिवेशमा रहने भएको भए तापनि जङ्गली जनावरको डर पनि नभएको। शान्ति खोज्ने एवं सोलो ट्रेकिङ रुचाउने यात्रीहरूलाई राम्रो परिवेश भएको पदमार्गका रूपमा यो रहेको छ।
छैटौँ, जैविक विविधताले पूर्णतया भरिपूर्ण छ। चैत-वैशाखमा लालीगुराँस, असार-साउनमा सुनाखरी, असोज-कात्तिकमा मनोरम हरियो पहाड र पुस-माघमा उच्च हिमाली शृङ्खलाहरूको दृश्यावलोकन गर्न पाइने अवसर छ। यो हरेक मौसममा फरक-फरक देखिने रहेछ। हामी यात्रा गरिरहँदा कुहिरोसँग धेरै पटक लुकामारी खेलियो। रङ्गमञ्चमा नाटक मञ्चन हुँदा पर्दा खोलिने र बन्द हुने परिवेश भएजस्तै प्राकृतिक दृश्यहरूसमेत सोही तरिकाले हेर्न पाइने। आकाश छ्याङ्ग खुलेको बेला साथीभाइको जमघट भइहाल्ने र फोटो खिचिहाल्ने अनि कुहिरोले ढाकेको बेला खुरुखुरु हिँड्नेसमेत गरियो।

सातौँ, यो खण्ड-खण्डमा यात्रा गर्न मिल्ने रहेछ। सबै पदमार्ग यात्रा गर्न त सात-आठ दिन नै लाग्ने हो, तर हामीलाई हप्ताको दुई दिन मात्र बिदा मिल्ने। त्यसैले खण्ड-खण्डमा यात्रा गरियो। पहिलो दुई दिन टेम्के डाँडादेखि तल्लो भेग, दोस्रो दुई दिन चखेवादेखि हाँसपोखरी हुँदै बाघखोर र तेस्रो पटक साल्पा पोखरी हुँदै सिलिचुङसम्म यात्रा गरियो। एक दिनको हाइकिङ मात्र गर्छु भन्ने रहर गर्ने पदमार्गीलाई पनि यो यात्रा सहज छ।
पद मार्गीहरूलाई सुविधा सम्पन्न होटेल बासको भने अभाव यहाँ खड्कने रहेछ। चखेवाबाट हिँडेको करिब छ घण्टापछि मात्र धोद्रेमा खाना खान पाइयो। होमस्टे सञ्चालकहरूमा हस्पिटालिटी एवं विनम्रताको अभाव देखिने रहेछ। उसो त होमस्टेहरूको भौतिक पूर्वाधारको अवस्था कमजोर नै रहेछ। सञ्चार सम्पर्क नहुने हुनाले सञ्चालकहरूलाई पूर्वसूचना दिन र बुकिङ गराउन पनि समस्या रहेको पाइयो।
समस्याहरू जे नै भए पनि हामीलाई मुन्दुम पदमार्गले मोहनी लगाएरै छोड्यो र यसको मादकतामा लट्ठ परेर फर्किएका छौँ। यसको यात्रा एक सिजनको मात्र होइन, फरक-फरक सिजनमा यसले फरक फ्लेभर दिने रहेछ। त्यसैले आगामी सिजनको प्रतीक्षामा छौँ। यहाँहरूलाई पनि यसको मोहनी जादुमा लट्ठ पर्ने मन भए भोजपुरले सदा स्वागत गरिरहनेछ।
अनि कि! मलाई लाग्छ-जो मानिस नेपालमा जन्मेर मुन्दुम पदमार्गमा यात्रा गरेको छैन, ऊ अभागी हो र जो मानिस भोजपुर क्षेत्रको भएर पनि मुन्दुम पदमार्गमा यात्रा गर्दैन, त्यो मानिस बैगुनी हो।
राजन पौडेल भोजपुरका प्रमुख जिल्ला अधिकारी हुन् ।






