सर्लाही । मधेस प्रदेश सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीका बाहिनी पति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) विष्णुप्रसाद भट्टले नेपाल-भारत सीमा क्षेत्रमा हुने चोरी-तस्करी, लागू औषध कारोबार तथा अन्य अवैध गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै निगरानी र कारबाही थप कडा बनाइने बताएका छन्।
सोमबार सर्लाहीका विभिन्न सीमावर्ती नाकाको नियमित अनुगमनका क्रममा उनले सीमामा कानुन कार्यान्वयनका विषयमा कुनै सम्झौता नहुने स्पष्ट पारे। मधेस प्रदेशको जिम्मेवारी सम्हालेपछि सर्लाही सीमाको यो आफ्नो छैटौँ अनुगमन भएको उल्लेख गर्दै उनले अघिल्लो अवस्थाको तुलनामा सीमा सुरक्षामा सुधार देखिएको र त्यसलाई अझ प्रभावकारी बनाउन आफू प्रतिबद्ध रहेको बताए।
डिआईजी भट्टले चोरी-तस्करी कानुन विपरीत र समाजका लागि हानिकारक गतिविधि भएकाले त्यसलाई कुनै पनि अवस्थामा स्वीकार गर्न नसकिने बताए। “सीमामा कडाइ गर्ने नै हो। यदि हाम्रो कुनै कर्मचारीको समेत संलग्नता रहेको सूचना प्राप्त भयो भने तत्काल आवश्यक कारबाही हुन्छ,” उनले भने।
उनले नेपाल-भारत खुला सीमाका कारण सुरक्षा चुनौती थप जटिल बनेको उल्लेख गर्दै त्यसको प्रभावकारी व्यवस्थापनका लागि सशस्त्र प्रहरीले नियमित निगरानी, गस्ती तथा सूचना संकलनलाई तीव्र बनाएको जानकारी दिए। सीमा क्षेत्रमा हुने लागू औषध कारोबारका कारण विशेष गरी युवापुस्ता कुलतमा फस्ने जोखिम बढ्दै गएको भन्दै त्यसविरुद्ध विशेष अभियान सञ्चालन गरिएको उनले बताए।
डिआईजी भट्टका अनुसार चोरी-तस्करी, लागू औषध ओसारपसार तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रणका लागि सीमा क्षेत्रमा नियमित अनुगमन र निगरानीलाई निरन्तरता दिइएको छ।
सीमा सुरक्षालाई प्रभावकारी बनाउन सुरक्षा निकायको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै उनले स्थानीय समुदाय, जनप्रतिनिधि तथा अन्य सरोकारवालाको साथ र सहयोग आवश्यक रहेको बताए। सीमा सुरक्षामा स्थानीयको सक्रिय सहभागिताले अवैध गतिविधि नियन्त्रणमा थप प्रभावकारिता आउने उनको भनाइ थियो।
मधेस प्रदेश सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयको नेतृत्व सम्हालेको दुई महिना पनि पूरा नभएको अवस्थामा डिआईजी भट्टले सीमा क्षेत्रको निरन्तर स्थलगत अनुगमनलाई प्राथमिकतामा राख्दै तस्करी नियन्त्रण, लागू औषध नियन्त्रण तथा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने अभियानलाई तीव्रता दिएका छन्।
सर्लाही जिल्लामा सशस्त्र प्रहरीको एउटा गणअन्तर्गत दुई वटा सीमा सुरक्षा गुल्म, नौ वटा बोर्डर आउट पोस्ट (बिओपी) र सात वटा सुरक्षा बेस गरी १९ वटा सुरक्षा युनिट परिचालनमा छन्। जिल्लाको नेपाल–भारत खुला सीमा पूर्वमा संग्रामपुरदेखि पश्चिममा छतौनासम्म करिब ५१ किलोमिटर फैलिएको छ।






