काठमाडौँ । १ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नागार्जुनबाट ४९ वर्षीय राजेन्द्र प्रसाद रिजाललाई पक्राउ गरेको हो।
धादिङको सत्यदेवी-८ घर भई हाल काठमाडौँको नागार्जुन नगरपालिका-८ बस्ने रिजालले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा व्यक्तिगत बैंकिङ खाता प्रयोग गरी १ अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४ सय ५४ रुपैयाँ बराबरको हुण्डी कारोबार गरेको प्रहरीले जनाएको छ।
सीआईबीका अनुसार केही व्यक्तिहरूले अवैध रूपमा हुण्डी कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा शंकास्पद व्यक्तिहरूको बैंकिङ कारोबार विश्लेषण गर्दा उक्त ठूलो परिमाणको हुण्डी कारोबार खुलेको हो।
काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी अनुमति लिई सीआईबीको टोलीले साउन १२ गते नागार्जुन नगरपालिका-८, राधाकृष्ण मन्दिर क्षेत्रबाट रिजाललाई नियन्त्रणमा लिएको हो।






