काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको छ।
वनस्थलीस्थित चःमतीमा रहेको पार्टी कार्यालयमा आयोजना गरिएको बैठक निर्धारित समयभन्दा करिब तीन घण्टा ढिलो सुरु भएको हो। बिहान ११ बजेका लागि तय गरिएको बैठक सर्वदलीय छलफल तथा पार्टी सभापति रवि लामिछानेको राष्ट्रपति भेटवार्ताका कारण ढिला भएको जनाइएको छ।
पार्टीको पहिलो महाधिवेशन सम्पन्न भएपछि बस्न लागेको यो केन्द्रीय समितिको दोस्रो बैठक हो। बैठकमा महाधिवेशनको समीक्षा, सांगठनिक अवस्था तथा आगामी कार्यदिशाबारे छलफल हुने पार्टी महामन्त्री विपिन आचार्यले जानकारी दिएका छन्।
बैठकको कार्यसूचीमा मनोनयन प्रक्रियाबाट चयन हुने पदाधिकारी र केन्द्रीय सदस्यको पदपूर्तिसम्बन्धी विषय पनि समावेश गरिएको छ। ११ जना पदाधिकारी तथा ५१ जना केन्द्रीय सदस्यमध्ये बाँकी पदमा आवश्यक निर्णय गर्ने तयारी रहेको जनाइएको छ।
यसैगरी, पार्टीको संगठन सञ्चालनसँग सम्बन्धित कार्यविधि निर्माण तथा आवश्यक परिमार्जन गर्ने विषयमा पनि छलफल हुने बताइएको छ।
बैठकले आगामी राजनीतिक अभियान, कार्यक्रम र संगठन विस्तारसम्बन्धी योजनासमेत तय गर्ने कार्यसूची रहेको रास्वपाले जनाएको छ।






